कमला र संजुद्वारा राष्ट्रिय किर्तिमान


कमला श्रेष्ठ र संजु चौधरीले ललितपुरमा जारी एयिशन युथ तथा जुनियर च्याम्पियनसिप २०१७ मा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । कमलाले दोश्रो अन्तराष्ट्रिय प्रतियोगितामा ५८ केजी तौल समूहको जुनियर विधामा स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरि कुलमा १५२ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गरेकी हुन् । उनले सातौ राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ केजी र क्लिनमा ७९ केजी गरि कुलमा १४५ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान आफ्नो नाममा लेखाएकी थिईन् । उनले यस अघि गुहाटी र सिलोङ्गमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिईन् । उनी ग्रु बी मा ८ खेलाडीलार्ई पछि पार्दै पहिलो हुन सफल भएकी थिईन् । उनले किर्तिमान राख्न सफल भएकोमा खुशी व्यक्त गर्दै किर्तिमान राख्नेमा आफु बिस्वस्त रहेको बताईन् ।
यस्तै संजु चौधरीले पहिलो अन्तराष्ट्रिय प्रतियोगितामै राष्ट्रिय किर्तिमान कायम गर्न सफल भईन् । उनले ग्रुप बीको ५३ केजी तौलमा स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरि कुल १४० केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमानमा आफ्नो नाम लेखाउन सफल भईन् । उनले देवी चौधरीले सातौ राष्ट्रिय खेलकुदमा राखेको किर्तिमानलाई भंग गर्दै राष्ट्रिय किर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । चौधरीले किर्तिमान कायम गर्न सकेकोमा खुशी ब्यक्त गरिन् ।
आज भएको खेलमा अन्य नेपाली खेलाडीहरुले आफ्नो खेलमा सुधार गर्न सफल भएको प्रशिक्षक जगदिश प्रधानले जानकारी गराए । पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका टिकामाया गुरुङ्गले ५८ केजी तौलमा स्नाचमा ४५ र क्लिनमा ५५ केजी गरि कुलमा १०० केजी र कविता चौधरीले स्नाचमा ४१ केजी र क्लिन एन्ड जर्कमा ५० केजी गरि कुल ९१ केजी भार बहन गरे ।
यस्तै पुरुषको ६२ केजी तौलमा साजारुद्घिन आलमले स्नाचमा ५५ र क्लिनमा ८० केजी गरि कुलमा १३५ केजी भार बहन गरे ।
महिलाको ५३ केजी तौलको युथ र जुनियर दुवैमा चाईनाकी ज्ञान होङ्गयानले स्वर्ण प्राप्त गरिन् । उनले स्नाच, क्लिन र कुलमा गरि ६ स्वर्ण पदक प्राप्त गरिन् । ज्ञानले स्नाचमा ८३ केजी, क्लिनमा १०८ केजी र कुलमा १९१ केजी भार बहन गरिन् । यस्तै युथ तर्फ थाईल्याण्डकी पोर्नचिता नियोमयोङ्गले स्नाचमा ६७ केजीका साथ कास्य र क्लिनमा ९२ केजीका साथ रजत र कुलमा १५९ केजीका साथ रजत प्राप्त गरिन् भने ताईपेईकी चोउ युवानले स्नाचमा ६८ केजीका साथ रजत, क्लिनमा ९० केजी र कुलमा १५८ केजीका साथ कास्य पाईन् ।
जुनियर तर्फ थाईल्याण्डकी सुरोधचना खाम्बाओले स्नाचमा ७५, क्लिनमा ९५ र कुलमा १७० केजी भार बहनका साथ रजत तथा फिलिपिन्सकी पेरेज इलाईन रोजले स्नाचमा ७३, क्लिनमा ९३ र कुलमा १६६ केजीका साथ कास्य पाईन् ।

पूर्व खेलाडीहरु सम्मानित
यसैविच भारोत्तोलनका पूर्व खेलाडी तथा विभिन्न तहबाट नेपालमा भारोत्तोलन खेलको विकास र विस्तारमा सहयोग पु¥याउन सफल व्यक्तित्वहरुलाई नेपाल भारोत्तोलन संघले सम्मान गरको छ । सम्मानित हुने व्यक्तित्वहरुमा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष, ओलम्पियन एवं नेपालको लागि पहिलो पदकहात पार्न सफल पूर्व खेलाडी तथा भारोत्तोलन संघका उपाध्यक्ष सुरेन्द्र बहादुर हमाल, ओलम्पियन, भारोत्तोलनमा दक्षिण एशियाली खेलमा सर्वाधिक पदक विजेता स्व. सुनिललाल जोशी, ओलम्पियन तथा अन्तराष्ट्रिय निर्णायक राजेन्द्र प्रधान र संघका सचिव एवं राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक, अन्तराष्ट्रिय निर्णायक तिलक राउत रहेका छन् । सम्मानित व्यक्तित्वहरुलाई अन्तराष्ट्रिय भारोत्तोलन महासंघका अध्यक्ष डा. टामास एजानले सम्मान पत्र प्रदान गरेका थिए । सम्मान गर्दै डा. एजानले भारोत्तोलनको विकास र विस्तारमा लाग्ने व्यक्तित्वहरुलाई सम्मान गरेकोमा आफुलाई निकै हर्षित गरको भन्दै नेपाल भारोत्तोलन संघलाई धन्यवाद प्रदान गरे ।

 

Comment