एसियाली युथ तथा जुनियर भारोत्तोलनको उद्घाटन


उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको आइतबार ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा एक समारोहबीच उद्घाटन गरे । प्रतियोगिताका खेलहरु भने सोमबारदेखि सुरु हुनेछन् । त्यो दिन नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ५६ कजी तौलसमूहको समूह ‘बी’ अन्तर्गत युथमा तुसार बुढा मगर तथा जुनियरमा गणेश रानाभाट र रामकुमार यादवले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
प्रतियोगितामा २७ राष्ट्रबाट १४८ पुरुष तथा १७ राष्ट्रबाट ९३ महिला खेलाडी सहभागी छन् । सबैभन्दा बढी चाइनिज ताइपेइबाट समान १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी सहभागी छन् । तिमोरले सबैभन्दा कम १ खेलाडी मात्र सहभागी गराएको छ । नेपालबाट ९ पुरुष र ४ महिला गरी १३ खेलाडी सहभागी छन् ।
युथ र जुनियरको पुरुष÷महिलामा समान ८–८ गरी जम्मा ३२ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता साउन १३ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत युथ १९ औं, जुनियर महिला २४ औं र जुनियर पुरुष ३१ औं संस्करण हो ।

 

Comment