अशिम र रमेश फाइनलमा

लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष रिकर्भ व्यक्तिगत स्पर्धामा कास्की जिल्ला आर्चरी संघका अशिम शेरचन र स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा अशिमले १२ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता स्वयम्भूका प्रेमप्रसाद पुन तथा रमेशले नेपाल प्रहरी क्लबका तिलक पुन मगरलाई पराजित गरे । सोही स्पर्धाको महिलामा नेपाल आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी राज्यलक्ष्मी जोशी तथा अन्नपूर्णकी रश्मी दर्लामीले आर्मीकी आयशा तामाङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष व्यक्तिगत कम्पाउन्डमा राजधानीका सनातन मल्लले अन्नपूर्णका किशोर गुरुङ तथा कञ्चनपुर जिल्ला आर्चरी संघका होमबहादुर थापा मगरले बेस्ट आर्चरीका प्रजित अग्रवाललाई पाखा लगाउदै फाइनलमा पुगे । पुरुष रिकर्भ टिमको सेमिफाइनलमा स्वयम्भुले अन्नपूर्ण तथा कास्कीले बेस्ट आर्चरीलाई निराश पार्दै फाइनलमा स्थान पक्का गरे । नेपाल आर्चरी संघद्वारा आयोजित पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा अन्नपूर्णका देव रोकाले स्वयम्भूका थार्चिन गुरुङ तथा आर्मीका डम्बर थापाले बेस्ट आर्चरीका ग्रिष्म गुरुङलाई पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे । त्यसै स्पर्धाको महिलामा अन्नपूर्णकी केशरी आलेले अन्नपूर्णकै सेलिना गुरुङ तथा अन्नपूर्णकी रोजिना थापाले आर्मीकी मित्रा राईको चुनौती पार लगाउदै फाइनलमा स्थान सुनिश्चित गरे । स्ट्यान्डर्ड पुरुष टिमको उपाधिका लागि बेस्ट आर्चरी र अन्नपूर्ण भिड्ने भएका छन् । बेस्टले आर्मी तथा अन्नपूर्णले स्वयम्भूलाई सेमिफाइनलमा पाखा लगाए । प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक आर्चरी संघले नेपाल खेलकुद पत्रकार मञ्चलाई सम्मान गरेको थियो । सदस्य–सचिव विष्टले मञ्चका सचिव राजु घिसिङलाई सम्मान पत्र हस्तान्तरण गरे । आर्चरी संघका अध्यक्ष स्व. श्रेष्ठको स्मृतिमा आयोजित दुईदिने प्रतियोगितामा ४७ पुरुषले ५ तथा १६ महिलाले २ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment