एपीएफ र पुलिस फाइनलमा

2(1)edited
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता२०७१’ मा आयोजक एपीएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश गरेका छन् । सोमबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफले न्यू डाइमण्ड एकेडेमीलाई २४–२६, २५–१२, २५–१५ र २५–१९ को अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चल भलिबल टिमलाई २५–२०, २५–१३ र २५–११ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल  खेलमा एपीएफ क्लबकी रेश्मा भण्डारी तथा पुलिस क्लबकी चुडा खड्का वुमन अफ द म्याच भएका छन ।
सो प्रतियोगिताको फाइनल खेल मंगलबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनुको साथै प्रतियोगिताको समापन एवं विजयी टिम तथा खेलाडीहरुलाई मंगलबार नै पुरस्कार तथा ट्रफि वितरण गर्ने कार्यक्रम समेत रहेको छ । फाइनल खेल नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब बीच हुने छ ।
सशस्त्र प्रहरी बलले दोस्रो पटक आयोजना गरेको उक्त भलिबल प्रतियोगिताको कूल पुरस्कार राशी चार लाख २५ हजार रुपैयाँ तथा ट्रफि रहेको छ भने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप एक थान स्कुटर प्रदान गरिनुका साथै उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई समेत जनही पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डाइमण्ड एकेडेमी, श्री चण्डेश्वरी युवा क्लब रामेछाप, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर, पश्चिमाञ्चल भलिबल टिम र श्री गाउँ खेलकुद विकास समिति दाङ्गको टिम गरी कूल आठवटा टिमको सहभागिता रहेको छ ।
लिग कम नकआउटको आधारमा हुने उक्त प्रतियोगिताका सवै खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन भएका हुन् ।

Comment