एथलेटिक्समा चितवन र काठमाडौं च्याम्पियन

 नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको छात्रमा चितवन र छात्रामा काठमाडौं मंगलबार टिम च्याम्पियन बनेका छन् । चितवनले ७६ र काठमाडौंले ८२ अंक जोडे । छात्रमा ५५ अंकसाथ ललितपुर दोश्रो र ३५ अंकसाथ काठमाडौं तेश्रो भए । त्यस्तै छात्रामा पनि दोश्रो भएको ललितपुरले ५२ अंक जोड्यो । तेश्रो स्थानमा सीमित चितवनले ४७ अंक ल्यायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ३ हजार मिटर दौडमा काठमाडौंका अजितकुमार यादव पहिलो भए । उनले निर्धारित दूरी ९ मिनेट ०३.४३ सेकेन्ड खर्चे । ललितपुरका प्रवीण कोइराला दोश्रो र चितवनका अमृत बोटे तेश्रो भए । सोही स्पर्धाको छात्रामा पहिलो भएकी काठमाडौंकी हुमी बुढा मगरले निर्धारित दूरी ११ मिनेट ५३.९८ सेकेन्डमा तय गरिन् । धादिङकी मिरा विक दोश्रो र सिन्धुपाल्चोककी रजिना कार्की तेश्रो भइन् । छात्र ज्याभ्लिन थ्रोमा चितवनका वीरेन्द्र चौधरी पहिलो भए । उनले ४५.४३ मिटर टाढा फाले । मकवानपुरका सन्तराम माझी दोश्रो र चितवनका विशाल लामा तेश्रो बने । त्यसै स्पर्धाको छात्रामा पर्साकी एलिना खड्काले स्वर्ण जितिन् । एलिनाले २५.१२ मिटर थ्रो गरिन् । सर्लाहीकी विष्णुकुमारी कार्कीले रजत तथा ललितपुरकी रेणु चौधरीले कांस्य हात पारे । छात्र ट्रिपल जम्पमा चितनका भुवन महतो अगाडि रहे । उनले १३.२२ मिटर हामफाल्दै स्वर्ण चुमे । नुवाकोटका रामकाजी कुमाल दोश्रो र सर्लाहीका मिठुन चौधरी तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा काठमाडौंकी सरु खवास पहिलो भइन् । सरुले ८.७३ मिटर जम्प लगाइन् । चितवनकी जसना महतो दोश्रो र काठमाडौंकी सरिता इतनी तेश्रो भए । लङ जम्पको छात्रमा चितवनका भुवन महतो तथा छात्रामा धनुषाकी सीता साह प्रथम भए । भुवनले ६.३० तथा सीताले ४.४१ मिटर जम्प गरे । भुवनले प्रतियोगितामा सर्वाधिक ५ स्वर्ण जिते । छात्रमा ललितपुरका आशिष चौधरीले २३.७४ सेकेन्ड तथा छात्रामा ललितपुरकै लुजःला अमात्यले २७.९६ सेकेन्डमा २ सय मिटर दौड पूरा गर्दै स्वर्ण चुमे । आशिष र लुजःलाले १ सय मिटरमा पनि शीर्ष स्थान हात पारेका थिए । ८ सय मिटर दौडको छात्रमा सिन्धुलीका सुभाष थापा र छात्रामा ललितपुरकी काजल विष्ट पहिलो बने । सुभाषले २ मिनेट ०४.८४ सेकेन्ड तथा काजलले २ मिनेट ३८.१२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । ४ गुणा ४ सय मिटर रिलेको छात्रमा चितवन पहिलो, ललितपुर दोश्रो र काठमाडौं तेश्रो भए । त्यसै स्पर्धाको छात्रामा काठमाडौंले स्वर्ण, चितवनले रजत र ललितपुरले कांस्य प्राप्त गरे ।

Comment