प्रेमप्रसाद र रोशन फाइनलमा

प्रेमप्रसाद र रोशन फाइनलमाबाह्रौं दक्षिण एसियाली खेलकुदका कांस्य विजेता स्वयम्भुका प्रेमप्रसाद पुन र नेपाल आर्मी क्लबका रोशन नगरकोटी राजधानी आर्चरी च्याम्पियनसिपको पुरुष रिकर्भमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा प्रेमले कास्कीका अशिम शेरचन तथा रोशनले स्वयम्भुका रमेश भट्टचनलाई समान ६–२ को नतिजामा पराजित गरे ।राजधानी न्युज पब्लिकेसनद्वारा आयोजित प्रतियोगिताको पुरुष कम्पाउन्डमा द बेस्ट आर्चरीका प्रजित अग्रवालले राजधानीका विवेकसेन गुरुङलाई १३७–१३४ तथा सुदूरपश्चिमाञ्चलका होमबहादुर थापा मगरले राजधानीका सनातन मल्ललाई १४०–१३६ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।महिला रिकर्भमा राष्ट्रिय कीर्तिमानधारी आर्मीकी ज्ञानु अवाले र कास्कीकी रश्मी दर्लामी फाइलनमा पुगे । ज्ञानुले कास्कीकी राज्यलक्ष्मी जोशीलाई ६–० तथा रश्मीले आर्मीकी आइशा तामाङलाई ६–२ ले पाखा लगाए ।स्ट्यान्डर्ड बो (मिक्स) इभेन्टमा आर्मीका पवन राई र बेस्ट आर्चरीकी ग्रिष्मा गुरुङले फाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा पवनले टीआईएका विल्बर आचार्यलाई ७–३ तथा ग्रिष्माले आर्मीका डम्बर थापालाई ६–० ले पन्छाए । पुरुष खुला ट्रेडिसनलमा अन्नपूर्ण आर्चरी क्लबका राज पुर्जाले युनाइटेड मुस्ताङ क्लबका राजु गुरुङ तथा नेपाल छन्त्याल समाजका धर्मेन्द्र छन्त्यालले म्यागदी मगर समाजका जितेन्द्र रोका मगरलाई समान ६–० ले निराश पार्दै फाइनल यात्रा तय गरे । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र राजधानीका संस्थापक अध्यक्ष एवं सांसद महेन्द्र शेरचनले एक कार्यक्रमबीच उद्घाटन गरे । ५ स्पर्धा समावेश प्रतियोगिताको पुरुष ट्रेडिसनलमा ३६, पुरुष रिकर्भमा १६, पुरुष कम्पाउन्डमा ७, महिला रिकर्भमा ६ र मिक्समा १५ खेलाडी सहभागी छन् । नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Comment