भलीबल अवार्ड सम्पन्न


नेपाली समुदायका उत्कृष्ट भलिबल खेलाडी र भलिबल क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गर्दै सिड्नीमा पहिलो पटक नेपाली भलिबल अवार्ड समारोह सम्पन्न भएको छ । पोखरा भलिबल क्लबको संयोजनमा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो ।समारोहमा विविध आठ शिर्षकमा खेलाडीहरुलाई अवार्ड प्रदान गरियो ।कार्यक्रम संयोजक अर्जुन गुरुङले दिएको जानकारी अनुसार

“बेस्ट प्लेयर”, “बेस्ट सर्भर”, “बेस्ट लिफÞ्टर”, “बेस्ट क्विकर”, “बेस्ट स्पाइकर”, “बेस्ट ब्लकर”, “रुकी अफ द ईयर” र “फरेभर योङ्ग प्लेयर” गरी आठ खेलाडीलाई पहिलो पोखरा भलिबल क्लब अवार्ड २०१७ प्रदान गरिएको हो ।
पहिलो पोखरा भलिबल क्लब अवार्ड २०१७ बाट बेस्ट प्लेयर ढोरपाटन भलिबल क्लबका खेम पुर्जा , बेस्ट सर्भर गल्कोट समाज अष्ट्रेलियाका दिपक अधिकारी, बेस्ट लिफÞ्टर गल्कोट समाजकै लोकेन्द्र छन्त्याल सम्मानीत भए । यसैगरी, बेस्ट क्विकर जलजला परिवारका खेम के. सी, बेस्ट स्पाइकर म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन (मोना)का सुमन बानिया, बेस्ट ब्लकर नया युनाइटेडका द्वारिका दवाडी, रुकी अफ द ईयर अवार्ड गल्कोट समाज अष्ट्रेलियाका नबिन अधिकारी र फरेभर योङ्ग प्लेयर जलजला परिवारका इन्द्र भण्डारी समानित भए ।
सिड्नीमा रहेका नेपाली समुदायमा निकै लोकप्रिय खेल मध्येको एक भलिबल खेल सन् २००२ देखि नै खेलिंदै आएको भए पनि भलिबल विधामै अवार्ड प्रदान गरिएको यो पहिलो पटक हो । सोहि समारोहमा सुरुवाती दिन देखि भलिबल खेलको विकास र प्रवर्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा बाग्लुंग अष्ट्रेलियन कम्युनिटीका संस्थापक एवं हिमालयन रेडियोका प्रमुख कार्यक्रम निर्माता टिका कार्की, भलिबल खेलाडी तथा रेफ्री राज कुमार अधिकारी एवं भलिबल खेलाडी धिरज मल्ल रहे ।
सन् २००२ देखि नै नेपाली समुदायका विभिन्न समूहबीच प्रतिस्पर्धात्मक रुपमा भलिबल खेलको संयोजन गर्दै आएका टिका कार्कीलाई अष्ट्रेलियाको नेपाली समुदायमा भलिबल खेल भित्र्याउने श्रेय दिइन्छ । तत्कालिन समयमा थकाली समाज, मगर समाज, बाग्लुंग अष्ट्रेलियन कम्युनिटी लगायतका संघ(संस्था संगको सहकार्यमा कार्कीले भलिबल खेललाई नेपाली समुदायमा नियमित खेलिने खेलका रुपमा विकसित गराउन अहम भूमिका निर्वाह गरेका थिए ।। अवार्ड समारोहमा बोल्दै कार्कीले अष्ट्रेलियाको नेपाली समुदायमा भलिबल खेलले व्यवसायिक फड्को मारेकोमा गर्व गर्दै सिमित क्षेत्रका समूहहरुमा निर्भर रहनु परेको वाध्यता भने चुनौती रहेको औंल्याए । उनले भलिबल क्लब तथा खेल आयोजकहरुलाई सबै नेपाली खेलाडीहरुलाई आकर्षित गर्दै भलिबलको परिधीलाई फैलाउन सुझाव दिए । नेपाल भलीबल संघका सचिव तथा ढोरपाटन भलीबल ट्रेनिङ सेन्टरका सचिव मनबीर छन्त्यालले पनि शुभकामना दिएका थिए ।

पोखरा भलिबल अवार्ड २०१७ बाट सम्मानित अर्का व्यक्तित्व राज कुमार अधिकारी नेपालका पूर्व राष्ट्रिय खेलाडी र भलिबल रेफ्री हुन् । हाल अष्ट्रेलियाकै घरेलु लिगमा समेत रेफ्रीको भूमिका निर्वाह गर्दै आएका अधिकारी समग्र नेपाली भलिबल खेलाडीका लागि प्रेरक व्यक्तित्व हुन् । त्यसैगरी त्यहाँको नेपाली समुदायमा भलिबल भित्रिएदेखि हालसम्म खेलाडीका रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका धिरज मल्ल पनि पोखरा भलिबल अवार्ड २०१७ बाट सम्मानित भए ।
कार्यक्रमका लागि वेलायतबाट रेडिङ्ग भलिबल क्लबका प्रेसिडेण्ट सन्तोष गुरुङ, पूर्व राष्ट्रिय खेलाडी ईश्वर घमाल, हेल्प नेपाल स्पोर्ट्स क्लबका प्रेसिडेण्ट अरुण श्रेष्ठ, न्यु डायमन्ड क्लबका मुख्य प्रशिक्षक कुमार राइ,महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली, पूर्व राष्ट्रिय भलिबल खेलाडी एवं हाल पश्चिमाञ्चल खेलकुदका भाइस प्रेसिडेन्ट कुमार गुरुङ लगायतले शुभकामना सन्देश पठाएका थिए ।

 

Comment