राखेपद्वारा राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र कीर्तिमानीधारी पुरस्कृत


राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३४ खेलका स्वर्ण विजेता र कीर्तिमानधारी खेलाडीलाई बिहीबार नगदसहित पुरस्कृत गरेको छ । व्यक्तिगत स्पर्धामा २ सय ६० तथा टिमतर्फ ४ सय २८ स्वर्ण विजेता खेलाडीलाई पूर्व घोषणा गरे बमोजिम पुरस्कत गरिएको हो । पुरस्कृत भएका कीर्तिमानधारी खेलाडीको संख्या १० रहेको छ । १० खेलाडीले १६ कीर्तिमान रचेका थिए ।
व्यक्तिगत र टिमका स्वर्णधारीले क्रमशः १५ हजार र ७ हजारका दरले नगद पुरस्कार पाए । कीर्तिमानधारी खेलाडीलाई एक कीर्तिमानका लागि २५ हजारका दरले पुरस्कृत गरियो ।
जम्मा ७२ लाख ९६ हजार नगद वितरण गरियो । व्यक्तिगततर्फ ३९ लाख, टिमतर्फ २९ लाख ९६ हजार र कीर्तिमानका लागि ४ लाख नगद प्रदान गरिएको हो । महिला फुटबलमा स्वर्ण जित्ने टिमलाई भने प्रतिस्पर्धा स्थल सुनसरीको दुहबीमा नै नगद पुरस्कार प्रदान गरिएको थियो ।
पौडी खेलाडी नेपाल आर्मी क्लबका शिरीष गुरुङले सर्वाधिक नगद पुरस्कार पाए । उनले ५ कीर्तिमानका लागि १ लाख २५ हजार र व्यक्तिगत १५ स्वर्ण जितेवापत छुट्टै २ लाख २५ हजार नगद पुरस्कार थापे ।
एथलेटिक्सकी चन्द्रकला लाम्गाडेले २ कीर्तिमानका लागि ५० हजार नगद पुरस्कार पाइन् भने २ स्वर्णका लागि ३० हजार रुपैयाँ हात पारिन् । अन्य कीर्तिमानधारीहरु भारोत्तोलनका कमलबहादुर अधिकारी, दिनेश श्रेष्ठ, पुकार गुरुङ, देवी चौधरी, कमला श्रेष्ठ र तारादेवी पुन तथा आर्चरीकी ज्ञानु अवालेले एक कीर्तिमानका लागि जनही २५ हजार नगद पुरस्कार थापे । उनीहरुले स्वर्णका लागि बेग्लै १५ हजार रुपैयाँ पनि प्राप्त गरे ।
व्यक्तिगत स्पर्धामा एक भन्दा बढी पदक जित्नेमा एथलेटिक्सका यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की, डिल्ली खत्री, कान्छीमाया कोजु, कृष्णा चौधरी र सरस्वती भट्टराईले २ स्वर्णका लागि समान ३०–३० हजार नगद पुरस्कार पाए । त्यस्तै एथलेटिक्सकै केशरी चौधरीले ३ स्वर्णका लागि ४५ हजार, जिमन्याष्टिकका राजु राई र पौडीकी सोफिया शाहले ५ स्वर्णका लागि समान ७५–७५ हजार तथा पौडीकै ओशिना भारती र सोनिरा विष्टले ३ स्वर्णका लागि समान ४५–४५ हजार नगद पुरस्कार प्राप्त गरे ।
खेलाडीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्यहरु शकुन्तला नगरकोटी, उपेन्द्र पौडेल, सुदिल शाही र वीरेन्द्र श्रेष्ठ, वरिष्ठ अधिकृत कमल खनाललगायतले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले खेलाडीलाई प्रदान गरिएको पुरस्कार पर्याप्त नभएपनि सांकेतिक रुपमा परम्पराको थालनी गर्ने उद्देश्यले खेलाडीलाई पुरस्कृत गरिएको बताउदै आठौं राष्ट्रिय खेलकुदका स्वर्णलाई २५ हजार, रजतलाई १५ र कांस्यलाई १० हजार नगद प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आठौंको कीर्तिमानधारीको पुरस्कार राशी ५० हजार बनाइने घोषणा गर्दै आठौं राष्ट्रिय खेलकुद २०७५ सालको मंसिरमै हुने बताए ।

Comment