आयोजक टीम क्वाटरफाइनलमा प्रवेश

IMG_44451
प्रेमनारायण न्यौपाने
पोखरा
आयोजक टीम पोखरा–११ पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा भूटानको सि.एफसीलाई ३–० ले पाखा लगाउँदै आयोजक टीम क्वाटरफाइनलमा प्रवेश गरेको हो।
पोखरा–११ को जीतमा अनिल ओझाले दुई तथा म्यान अफ दी म्याच सुनिल विकले एक गोल गरेका थिए। पुस २९ गते हुने क्वाटरफाइनलमा आयोजक टीमले गत वर्षको प्रतिद्वन्द्वी ए डिभिजनको टीम थ्रीस्टार क्लबलाई नै पाएको छ।
पहिलो हाफमा फितलो प्रदर्शन नगरेको आयोजकले २६ मिनेटमा प्रतिद्वन्द्वी भूटानी डिफेन्सलाइनको कमजोरीमा फाइदा उठाउँदै विरुद्ध पहिलो गोल ग¥यो। घरेलु मैदान र घरेलु दर्शकको पनि साथ पाएको उसको लागि सुनिल विकले उत्कृष्ट गोल गरेका थिए। राकेश गुरुङको क्रसलाई डिबक्सभित्र युटर्नको शैली अपनाएर भूटानी डिफेन्स लाइनलाई जिल्याउँदै सुनिलले बललाई जाली चुमाए।
पहिलो गोल गरेर हौसिएको पोखरा–११ ले त्यसको चार मिनेटमै पेनाल्टीमार्फत दोस्रो गोल गर्न सफल भयो। सि.एफसीका डिफेण्डर विवेक गुरुङले राकेश गुरुङलाई डिबक्सभित्र लडाएपछि फिफा रेफ्री लव खत्रीले आयोजक टीमलाई पेनाल्टी हान्ने अवसर दिएका थिए। जसमा अनिल ओझा कत्ति पनि चुकेनन्।
चार मिनेटको अन्तरमा दुई गोल खाइसकेको सि.एफसीले ४० मिनेटमा एकगोल फर्काउने अवसर पाएको थियो तर त्यसमा पोखरा–११ का गोलकिपर सागर गुरुङ बाधक बने।सेतु राईले डिबक्सभित्रबाट हानेको पावर भलिलाई सागरले डाइभ हानेर नियन्त्रणमा लिए।
दोस्रो हाफमा आयोजक टीमले केही सुधारिएको खेल पस्कियो।५४ मिनेटमा सुनिल विकको पासमा राकेश गुरुङको पावर सुट क्रसबारमा ठोकिएर बाहिरियो।९० मिनेटमा सुनिल विकले एकल प्रयासमा अगाडि बढाउँदै डिबक्सभित्रबाट हानेको प्रहारलाई भूटानी गोलकिपर नन्तु क्षेत्रीले डाइभ हानेर बचाए।चार मिनेट थपिएको इन्जुरी समयको अन्तिममा आयोजक टीमले दोस्रो पेनाल्टी पायो।सुनिल विकको बल डिबक्सभित्र खोस्ने क्रममा उनको खुट्टा समातेर लडाएपछि भूटानका गोलकिपर नन्तुलाई रेड कार्ड दिँदै रेफ्री लव खत्रीले आयोजक टीमले दोस्रो पेनाल्टी हान्ने अवसर पायो।जसलाई अनिल ओझाले सजिलै गोलमा परिणत गरिदिए।
यसअघि स्थिति सम्हालिइसकेको अवस्थामा भूटानका लक्ष्मण लिम्बुले रेफ्रीप्रति अनस्पोर्टिङ विह्याव देखाएपछि उनले पनि रेडकार्ड खाए। दुईजनाले रेडकार्ड खाएपछि नौ खेलाडीमा सीमित भएको सि.एफसीले दोस्रो रोजाइका गोलकिपर विशाल वाइवालाई गोलपोस्ट सम्हाल्न मैदानभित्र रहेका विक्की मेइठीलाई परिवर्तन गरेको थियो।
सो खेलमा पोखरा–११ का अनिल ओझा र सि.एफसीका लक्ष्मण लिम्बुले एलोकार्ड खाएका थिए।
हारपछि सि.एफसीका व्यवस्थापक प्रभातराज गुरुङले रेफ्रीले होम टीमको सपोर्ट गरेको आरोप लगाए। उनले अपोनेन्ट टीमले एक गोलले लिड गरिसकेको अवस्थामा पेनाल्टी दिइनु सरासर गलत भएको प्रतिक्रिया दिए।उनको भनाइ थियो–‘गोलकिपरलाई रेड कार्ड दिइनु पनि न्यायसंगत भएन।रेफ्रीले होम टीमको सपोर्ट गरेको देखियो।’ पहिलो चरणमा बाई पाएको सि.एफसी गत वर्ष नेपलिज फुटबल एशोसिएसन हङकङसँग पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो।
जीतपछि आयोजक टीम पोखरा–११ का प्रशिक्षक राजेन्द्र तामाङले पछिल्लो चार दिन मात्र रड्डशालामा प्रशिक्षण गर्न पाएको हुँदा खेलाडीलाई सुरुमा केही गाह्रो भएको प्रतिक्रिया दिए। उनले करिब २० दिन प्रशिक्षण गर्न पाए पनि मैदानको अभावमा कहिले कता, कहिले कता प्रशिक्षण गराउनुपरेको हुँदा टीम सेट हुन नसकेको बताए।
उनले क्वाटरफाइनलको प्रतिद्वन्द्वी थ्रीस्टार क्लबबारे तीखो टिप्पणी गर्दै भने–‘थ्रीस्टार कस्तो टीम हो भन्ने कुरा मलाइृ राम्रोसँग थाहा छ, किनकि म आफै पनि त्यसको पूर्व खेलाडी हुँ, अहिले उसको टीम सेट भइसकेको छैन, त्यसैकारण हामीलाई डर छैन।’ गत वर्ष आयोजक टीम थ्रीस्टार क्लबसँग टाइब्रेकरमा पराजित भएको थियो।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहेको छ।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
शनिबारदेखि क्वाटरफाइनल खेल हुनेछन्।जसअनुसार शनिबार डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र सरस्वती क्लबबीच पहिलो क्वाटरफाइनल हुने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए। तस्विर सौजन्य ः उमेश पुन

Comment