मनकामना केबलकार पोखरा कपमा एपीएफद्वारा धरान पराजित

IMG_42141
प्रेमनारायण न्यौपाने
पोखरा
गणेश लावती र नवीन लामाको उत्कष्ट गोलसँगै सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को दोस्रो चरणमा प्रवेश गरेको छ। बिहीबार भएको तेस्रो खेलमा धरान फुटबल क्लबलाई २–१ ले हराउँदै एपीएफ दोस्रो चरणमा प्रवेश गरेको हो।
एपीएफको जीतमा गणेश लावती र नवीन लामाले एक–एक गोल गरे।पहिलो हाफको २२ मिनेटमा गणेश लावतीले उत्कृष्ट गोल गर्दै टीमलाई अग्रता दिलाए। सन्तोष श्रेष्ठको क्रसलाई गणेशले एक्रोब्याटिक शैलीमा प्रहार गर्दै गोलमा परिणत गरेका थिए। अलमलिएका धरानका गोलकिपर विनय श्रेष्ठले प्रतिरोध गर्ने कुनै मौकै पाएनन्।
तर त्यसको २० मिनेटमा एपीएफले धरानको तर्फबाट बराबरी गोल खायो।हेमन्त थापामगरको पासमा राज पौडेलले पोस्टमा हेडिङ गरेका थिए।उनले हेडले Çिलक गरेको बल एपीएफका गोलकिपर अमृत चौधरीले नियन्त्रणमा लिने प्रयास गर्दागर्दै फुत्किएपछि डिफेण्डर मानबहादुर तामाङको खुट्टामा लागेर गोललाइन पार गरेको थियो।
रमेश दंगाल, पाल्साङ लामा, अञ्जन विष्ट, हेमन गुरुङ, आदित्य चौधरी, मानबहादुर तामाङ रोमन रसाइली गरी सात जना खेलाडीलाई एक वर्षको लागि कन्ट्याक गरेको एपीएफले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो। उसले नौ मिनेटमै दोस्रो गोल गर्न सफल भयो। नवीन लामाले फ्रिकिकमार्फत फस्टबारमै जाली चुमाए। धरानका निरोज बस्नेतले गणेश लावतीलाई फल हानेर लडाएपछि एपीएफले करिब २५ यार्डबाट फ्रिकिक हान्ने अवसर पाएको थियो। दोस्रो हाफको ३७ मिनेटमा धरानले बराबरी गोल गर्ने अवसर खेरा फाल्यो। प्रकाश बुढाथोकीले करिब ३९ यार्डबाट सेकेण्डबारमा हानेको फ्रिकिक गोलकिपर अमृत चौधरीले सिक्सयार्ड बक्सभित्र फुत्काएपछि त्यसलाई मानबहादुर तामाङले चलाखीपूर्ण क्लियर गर्दै ठूलो संकट टारेका थिए। त्यसपछि धरान खेलमा फर्किन सकेन र एपीएफ विजयी भयो। क्वाटरफाइनलमा एपीएफको भेट पुस २८ गते एभरेष्ट क्लब हङकङसँग हुनेछ।
सो खेलमा धरानका निरोज बस्नेत, अजय विक र लक्ष्मण रुचाल तथा एपीएफका पाल्साङ लामा र सन्तोष श्रेष्ठलाई फिफा रेफ्री श्रवण लामाले एलोकार्ड देखाएका थिए।
हारपछि धरानका प्रशिक्षक दीपक राईले गेम सोचेजस्तै भएको तर लामो यात्रा र केही खेलाडी फिट नभएकोले पनि गोल स्कोर नभएको बताए। उनले पहिलो गोल डिफेण्डरको सिल्ली मिस्केटले खाएको दाबी गरे।
जीतपछि एपीएफका प्रशिक्षक कृष्ण थापाले पहिलो रोजाइको फरवार्ड अञ्जन विष्ट घाइते भएकोले बुढो खेलाडी (गणेश लावती) लाई मौका दिएको तर उसैले वल्र्डकलास लेभलको गोल हानेको प्रतिक्रिया दिए। डेढ महिनाको प्रशिक्षणले खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै उनले सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए। धरानको तर्फबाट भएको गोललाई भने प्रशिक्षक थापाले डिफेण्डरबीचको मिस अण्डरस्ट्याण्डिङको संज्ञा दिए। उनले क्वाटरफाइनलको प्रतिद्वन्द्वी एभरेष्ट क्लब हङकङको बारेमा आफूले थापा पाइसकेको भन्दै आफूहरूलाई खासै गाह्रो नहुने बताए।थापाले बेन्चमा रहेको टीम पनि दह्रो भएको दाबी गरे।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहेको छ।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ। तस्विर सौजन्य ः उमेश पुन

Comment