पुलिस सडन डेथमा विजयी

manakamana football
प्रेमनारायण न्यौपाने
पोखरा

नेपाल पुलिस क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा बुधबार भएको खेलमा रुपन्देही फुटबल सङ्घलाई सडन डेथमा ६–५ ले हराउँदै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो। पुलिसले पुस २७ गते विभागीय टीम त्रिभुवन आर्मीसँग सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्नेछ। निर्धारित ९० तथा अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा पुलिसका लागि दीपेन श्रेष्ठ, सुमन सुवेदी, भोला सिलवाल, सुरज विक, हरि कठायत र दिनेश गुरुङको प्रहार गोलमा परिणत भएको थियो।जुमनु राई र हेम तामाङको प्रहार रुपन्देहीका गोलकिपर दीलिप क्षेत्रीले सेभ गरे भने अजीत भण्डारीको प्रहार क्रसबारमाथिबाट बाहिरियो।
रुपन्देहीका लागि पुकार गहतराज, कालु थापा, विमल घर्तीमगर, रवि सिलवाल, सुरज थिङको प्रहार गोलमा परिणत भए। वर्षात गुरुङ र निशान्त ढुड्डानाको प्रहार पुलिसका गोलकिपर रितेश थापाले सेभन गरे भने डोना थापा र लक्ष्मण थापाको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो। दुवैतर्फ पाँच–पाँच जनाले हानेको स्थितिमा तीन–तीन गोलको बराबरी भएपछि निर्णय सडन डेथमा पुगेको थियो।पुलिसका जुमनु राईको पहिलो र रुपन्देहीका लक्ष्मण थापाको अन्तिम प्रहार गोलमा परिणत हुन सकेन। पहिलोपटक आमनेसामने भएका दुवै टीमको खेल भने त्यत्ति स्तरीय थिएन। रुपन्देहीविरुद्धको खेलमा पोखरामा सर्वाधिक सफल मानिएको पुलिसको जीत भने सजिलो रहेन। उसले रुपन्देहीविरुद्ध एक सय १२ मिनेट सङ्घर्ष गर्नुप¥यो।
जीतपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले खेलाडीको बल पोसेसन नहुनु, खेलाडीबीच कोअर्डिनेशन हुन नसक्नु र पाएको चान्सलाई गोलमा परिणत गर्न नसक्दा जीतको लागि समय लम्बिएको बताए। उनले पहिलो हाफ हमावासँगै र दोस्रो हाफ हावाको विरुद्धमा खेल्नुपरेको बताए। दोस्रो हाफमा केही समय हल्का हावाहुरी चलेको थियो। उनको भनाइ थियो–‘पुलिस पहिलाको जस्तो छैन, जुनियर केटाहरू छन्, त्यसैले टीम सेट भइसकेको छैन।’ उनले आर्मीविरुद्धको खेलसम्म टीम भइसक्ने दाबी गरे।
रुपन्देहीका प्रशिक्षक लोक पुनले फरवार्डबीच कम्बिनेशन हुन नसक्दा दुर्भाग्यवश हारेको प्रतिक्रिया दिए।रुपन्देहीका विश्वास श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएको सो खेलमा पुलिसका हेम तामाङ, दीपेन श्रेष्ठ, अजीत भण्डारी तथा रुपन्देहीका वर्षात गुरुङलाई फिफा रेफ्री लव खत्रीले एलोकार्ड देखाएका थिए।बिहीबार सशस्त्र     प्रहरी बलको एपीएफ क्लब र धरान फुटबल क्लबबीच तेस्रो खेल हुने उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए। माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहेको छ।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।

तस्बिर सौजन्य ः उमेस पुनः

Comment