१९औं राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

apf won title 1
बिक्रम खड्का
बुटवल
बुटवलमा जारी  १९ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि साविक विजेता एपीएफ क्लबले जितेको छ ।  बुटवल मण्डपमा जारी तेहौं  राष्ट्रिय औद्योगिक प्रदर्शनीको मुख्य आकर्षण बनेको महिला भलिबलको सोमबार सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–२ सेटमा पाखा लगाउंदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
पहिलो सेटमा  २५–१७ ले पछि परेको एपीएफले दोस्रो र तेस्रो सेट क्रमशः  २५–१८  र २५–२३ मा पुलिसलाई पछाडि पार्दै अग्रता हासिल गरेको हो ।
चौथो सेटमा पुनः पुलिसले २५–१६ मा एपीएफलाई पछाडि पार्दै खेललाई २–२ सेटको बराबरीमा पुराएको थियो । प्रतियोगिताको उपाधिका लागि निर्णायक अन्तिम सेटमा एपीएफले पुलिसलाई १५–९ मा स्तब्ध पार्दै उपाधिममाथि कब्जा गर्न सफल भएको थियो ।
विभागीय टिम एपीएफ र पुलिसका बीचको फाइनल खेलमा आफ्नो समूहलाई हौसला दिलाउन बाक्लो शीतलहरकाबीच पनि  नेपाल प्रहरी र सशष्त्र प्रहरी बलका अधिकृतदेखि जवानसम्मको खेल मैदानमा खचाखच उपस्थिति रहेको थियो ।
जितपछि एपीएफका क्याप्टेन निमा श्रेष्ठले प्रतिद्वन्द्वी पुलिसका खेलाडीले राम्रो खेल प्रदर्शन गरेतापनि आफ्नो टिमका खेलाडीको  स्टामिना पुलिसको भन्दा राम्रो भएकाले जित हासिल गरेको प्रतिक्रिया दिए । उता उपविजेता नेपाल पुलिस क्लबका क्याप्टेन निता शाहले प्रतियोगिताकी प्रमुख रेफ्री राईले निष्पक्ष खेल खेलाउन नसकेको आरोप लगाउंदै आफ्नो खेलाडी कमला पुनलाई पहेंलो कार्ड देखाएर हतोत्साही बनाएको प्रतिक्रिया दिइन् ।
जितसंगै एपीएफले  नगद ५१ ह्जार र ट्रफी,उपविजेता नेपाल पुलिस क्लबले  नगद ३१ ह्जार, तेस्रो स्थान प्राप्त मध्यमाञ्चलले २१ ह्जार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा  एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित हुदै नगद १० हजार प्राप्त गरिन् भने एपीएफकै विनिता बुढाथोकी उत्कृष्ट लिफ्टर भइ्न् ।  यस्तै नेपाल पुलिस क्लबका रमिला तण्डुकार उत्कृष्ट सर्भर,कोपिला उप्रेती उत्कृष्ट ब्लकर,कमला पुन उत्कृष्ट डिफेण्डर र मध्यमाञ्चलकी प्रतिमा माली उत्कृष्ट स्पाइकर घोषित भएका छन् ।
प्रतियोगीका विजयी टिम र खेलाडीहरुलाई तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया, मुख्य प्रायोजक एल्जी ब्युटी सोपका प्रबन्ध निर्देशक सतिशचन्द्र कशौधन, एल्जी ब्युटी सोपकी ब्राण्ड एम्बेसडर नायिका निशा अधिकारी,जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष विष्णुकुमार श्रेष्ठले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

Comment