विशेष प्रशिक्षणलाई जुडो खेलाडी हंगेरीतर्फ


अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) को विशेष प्रशिक्षणमा सहभागी हुन ४ सदस्यीय नेपाली जुडो खेलाडी टोली बिहीबार हंगेरी प्रस्थान गरेको छ । अप्रिल २१ देखि मे १९ तारिखसम्म सञ्चालन हुने प्रशिक्षणमा समान २–२ पुरुष÷महिला खेलाडी सहभागी हुने छन् ।
महिलामा ओलम्पियन एवं १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी फुपुल्हामु खत्री र मनीता श्रेष्ठ प्रधान तथा पुरुषमा किरण गडेल र इन्द्रबहादुर श्रेष्ठ रहेका छन् । पूर्वाञ्चलमा गत पुसमा भएको सातौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा उनीहरुको छनोट गरिएको हो । चारैले राष्ट्रिय खेलकुदमा आ–आफ्नो विधामा स्वर्ण जितेका थिए ।
हंगेरी जुडो संघ र आईजेएफको सहयोगमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । हंगेरी जुडो र आईजेएफले खेलाडीको आवास र खानाको खर्च व्यहोर्ने छ । आसन्न साग, एसियाली खेलकुद र ओलम्पिक खेलकुदको तयारीलाई मध्यनजर गरी खेलाडीलाई विशेष प्रशिक्षणमा पठाएको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले बताए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव विष्टले जुडो खेलसहित ५ खेललाई राखेपले उच्च प्राथमिकतामा राखेको र त्यसै अनुसार बजेटको व्यवस्थाका लागि पनि सिफारिस गरेको बताए ।

Comment