कास्कीमा जुनियर टेनिस प्रशिक्षण


पोखरा । कास्की जिल्ला टेनिस संघले कास्कीमा १२ वर्ष मुनिका खेलाडीहरुलाई टेनिस प्रशिक्षण शुरु गरेपछि टेनिस सिक्न आउने खेलाडीको संख्या बढेको छ । संघले तीन साता अघिदेखि दोश्रो चरण अन्तर्गतको प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । यसपटक झण्डै ५० खेलाडीहरु नियमित प्रशिक्षणमा आएका छन् । ‘छ महिना अगाडी सञ्चालित पहिलो चरणको प्रशिक्षणमा झण्डै ३० खेलाडीहरु प्रशिक्षणमा आएका थिए, तर यसपटक प्रशिक्षार्थीको संख्या झण्डै दोब्बरनै बढेको छ’–संघ कास्कीका अध्यक्ष विनोद कायस्थले बताए ।
संघ कास्कीले जुनियर लेवलबाटै खेलाडीको खोजी गरि नयाँ र प्रतिभावान खेलाडी उत्पादनका लागि यस तालिम सञ्चालन गरेको जनाएको छ । तालिममा महिला खेलाडीहरुलाई प्राथामिकता दिइएको छ । ‘हामीसंग पुरुष खेलाडीहरु त प्रशस्तै छन् तर महिला खेलाडीहरुको अभाव देखिएको छ, सोही अभावलाई पुरा गराउनका लागि पनि यसपटकदेखि महिला खेलाडी उत्पादनमा संघ कास्कीले बढि जोड दिएको छ’ कायस्थले भने ।
विहान तीन घण्टासम्म चल्ने तालिममा यहाँका अग्रज खेलाडीहरु निरज थापा, अनिल शाहि, अनिल मगर र प्रदिप खड्काले प्रशिक्षण दिएका छन् । त्यस्तै नेपाल पूर्व नम्बर १ खेलाडी कुमार अधिकारीले पनि यो तालिममा आफ्ना अनुभव र केहि खेल कौशल साटे । यतिबेला विद्यालय विदाको समय परेकाले पनि खेलाडीहरुले प्रशिक्षणमा नियमित समय दिइरहेको संघ कास्कीका सचिव लोक गुरुङ्गले बताए । विद्यालय शुरु भएपछि पनि शनिबार र अन्य विदाका दिनहरुमा तालिम नियमित रुपमा सञ्चालन हुने पनि उनले जानकारी दिए ।

Comment