नविनलाई चेस उपाधि


महेन्द्रनगर । कञ्चनपुर जिल्ला बुद्धिचाल संघद्धारा नयाँबर्षको अबसरमा आयोजित एलबिए भुवनेश्वरी खुल्ला रेटिङ्ग चेस प्रतियोगिताको उपाधि ६ अंकका साथ नविन तण्डुकारले जितेका छन् । उनले अन्तिम खेलमा कञ्चनपुरका बसन्त रावललाई हराए । उपाधिसँगै नविनले २५ हजार ५ सय ५५ रुपैंया हातपारे । त्यसैगरी समान ६ अंक भए पनि प्रोग्रेसिव टाइब्रेकमा भक्तपुरका विजय जति दोश्रो भए । उनले अन्तिम खेलमा दोलखाका आशिष फूँयाललाई हराए । विजयले १५ हजार रुपैया पाए । त्यस्तै ५.५ अंकभएका बसन्त तेश्रो र सुरवीर लामा चौथौं भए । उनीहरुले १० हजार र ७ हजार रुपैया पाए ।
स्वीस लिग ७ चरणको खेलमा बाँकेका तीर्थ विक पाँचौं, दोलखाका आशिष छैटौं, भोजपुरका सुमन राई सातौं, कञ्चनपुरका भीमदत्त पाण्डे आठौं, कैलालीका जीतबहादुर क्यापछाकि नवौं र उदयपुरका रञ्जित राई दशौं भए । त्यस्तै स्थानीयतर्फ फुलचन राना, अनरेटेडतर्फ कैलालीका सुरेश चन्द, महिलातर्फ सुशीला साउँद र विधार्थीहरुमा कैलालीका रोहित जोशी उत्कृष्ठ ठहरिए । उनीहरुले जनही ३ हजार रुपैया पाए ।
बिजयी खेलाडीलाई आयोजक जिल्ला अध्यक्ष जयबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष शेरबहादुर चन्द, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु, कार्यक्रम संयोजक टीकादत्त दाहाल लगायतले पुरस्कार प्रदान गरे । तीनदिने प्रतयोगितामा नेपालबाट ११ जिल्लाका ४९ जना र भारतका ३ जना खेलाडीहरु सहभागी थिए ।

Comment