बुद्ध प्रकाशलाई ४ स्वर्ण

न्यु बुद्ध प्रकाश स्कुलले काठमाडौं जिल्लाव्यापी नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत उसुमा बुधबार सर्वाधिक ४ स्वर्ण जित्दै पहिलो स्थान हात पारेको छ । बुद्ध प्रकाशले थप १–१ रजत र कांस्य पनि जित्यो । छात्र÷छात्रामा समान ३–३ गरी ६ स्पर्धामा भएको प्रतिस्पर्धामा ग्रीनफिल्ड इङलिस स्कुल र इन्टरनेसनल पिस एकेडेमीले १–१ स्वर्ण हात पारे । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छाङ छ्वान छात्रमा ग्रीनफिल्डका रविन तामाङ पहिलो, जुबिलियन्टका संदीप तामाङ दोश्रो र बुद्ध प्रकाशका सनी लामा तेश्रो भए । सो स्पर्धाको छात्रामा बुद्ध प्रकाशकी अनु राईले स्वर्ण, बलम्बु माविकी अस्मिता श्रेष्ठले रजत र सनसाइनकी सविता महर्जनले कांस्य जिते ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको नान् छ्वान छात्रमा अजय तामाङ पहिलो, सनसाइनका प्रवीण लामा दोश्रो र काभ्याका मनीष तामाङ तेश्रो भए । उक्त स्पर्धाको छात्रामा बुद्ध प्रकाशकी रसु तामाङ प्रथम, बलम्बुकी अन्जिता स्याङतान द्वितीय र सनसाइनकी आयुशा महर्जन तृतीय स्थानमा रहे ।
थाइची छ्वानको छात्रमा बुद्ध प्रकाशका विवेक श्रेष्ठ पहिलो र काभ्यका रोनिश श्रेष्ठ दोश्रो भए । त्यसै विधाको छात्रामा इन्टरनेसनल पीसकी ज्योति तामाङ पहिलो भइन् भने बुद्ध प्रकाशकी मारिया राई दोश्रो भइन् ।

Comment