तेक्वान्दो टोली जापान जाने


जापानको ओसाकामा हुने १५ औं जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले सहभागिता जनाउने भएका छन् । त्यसमा ४ पुरुष र १ महिला खेलाडी छन् । पुरुषको २५ केजीमा आयुश बोहरा, २७ केजीमा प्रजुन कुइकेल, २९ केजीमा विवेक श्रेष्ठ र ७४ केजीमा तिलक लामा रहेका छन् । महिलाको २५ केजीमा प्रगति कुइकेलले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । सबै खेलाडीले पुम्से विधामा पनि भाग लिने छन् । विवेकले गत वर्ष अगष्टमा थाइल्यान्डको बैंककमा भएको दोश्रो हिरोज तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का छन् । उनले पुम्सेमा पनि प्रतिस्पर्धा गर्ने छन् । व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ रहेका छन् । उनी हङकङबाटै जापान जानेछन् । टोलीका लागि ट्रयाकसुट गुरुङकै एकेडेमीले प्रायोजन गरिदिएको हो ।
जापानमा रहँदा टोलीलाई एनआरएन कान्साइका नि. वर्तमान अध्यक्ष नरेन्द्र बस्नेत र जापानमै बस्दै आएका तेक्वान्दो खेलाडी सिद्धार्थले आवश्यक सहयोग गर्ने बताइएको छ । अप्रिल २३ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १६ राष्ट्रका ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराए ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य एकिन्द्र कुवँरले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली अप्रिल २१ तारिख जापान जाने कार्यक्रम छ ।

Comment