स्टिल ब्याकलाई प्रिमियर लिग


स्टिल ब्याकले लुम्बिनी फुटसल प्रिमियर लिगको उपाधि बिहीबार जितेको छ । चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा भएको अन्तिम खेलमा स्टिल ब्याकले स्प्लिट फायरलाई ६–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजयी टिमका लागि सौगात गजुरेलले ह्याट्रिक गरे भने विनोद पुडासैनी, रमेशजंग तामाङ र मिङमार स्याङबोले १ गोल थपे । स्प्लिट फायरका सोहन तामाङले २ तथा राजु गौतमले १ गोल गरे ।
लुम्बिनी एकेडेमी कलेजद्वारा आयोजित प्रतियोगितामा स्प्लिट फायरका सोहन तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै गोलरक्षकमा स्प्लिट फायरका मदन चौलागाईं, डिफेन्समा ट्रिडेन्ट्सका मनीष घलान, स्ट्राइकरमा स्टिल ब्याकका सौगात गजुरेल र अनुशासनमा स्टिल ब्याककै पासाङ छिरिङ उत्कृष्ट ठहरिए ।
विजेतालाई आयोजक कलेजका प्रिन्सिपल रविचन्द्र कोइराला र स्पेनका फुटबल प्रशिक्षक अल्वर्ट गोरिनाले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ २३ गतेदेखि सुरु लिगमा २० टिमले सहभागिता जनाएका थिए । अन्तिम खेल बाहेक सबै खेलहरु सार्वजनिक विदाका दिन खेलाइएको थियो ।
आयोजक कलेजका इसीए इन्चार्ज विनोद क्षेत्रीले लिगमा सहभागी मध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी बैशाखको अन्तिम साता बंगलादेशको वीकेएसपी टिमसंग मैत्रीपूर्ण खेलका लागि टिम तयार गरिने जानकारी गराए ।

Comment