पूर्वाञ्चललाई यु–१९ क्रिकेट उपाधि


पूर्वाञ्चलले पीएलओ यु–१९ इहटरी प्रिमियर लिग क्रिकेटको उपाधि बिहीबार जितेको छ । इहटरी क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ८३ रनले पराजित ग¥यो । उपाधिसंगै पूर्वाञ्चलले ५० हजार तथा पश्चिमाञ्चलले ३० हजार नगद पुरस्कार हात पारे ।
इटहरीस्थित डिभीएम स्कुलको मैदानमा पहिले व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १ सय ६१ रनको योगफल खडा गरेको थियो । पूर्वाञ्चलका लागि मिनास थापाले सर्वाधिक ६८ रन योगदान गरे । सन्दिप ढुंगानाले २८ रन बनाए । बलिङतर्फ पश्चिमाञ्चलका सन्दिप क्षेत्रीले २ तथा अनिल खरेल र राहुल चौहानले १–१ विकेट चट्काए । जवाफी व्याटिङमा पश्चिमाञ्चल १५.५ ओभरमा अल आउट हुनुअघि मात्र ७८ रनमा समेटियो । अजय कौशल्याले ३० तथा मनोज गुरुङले १४ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका पूर्वाञ्चलका मिनासले बलिङमा पनि त्यो लयलाई कायम राख्दै ४ विकेट लिए । विवेक यादवले ३ विकेट हात पारे ।
फाइनलको ‘म्यान अफ द म्याच’ बनेका मिनास ‘म्यान अफ द सिरिज’ समेत बने । त्यसवापत मिनासले ५ हजार नगद र स्पोर्ट्स ग्लास पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताभर ११ विकेट लिएका पश्चिमाञ्चलका राहुल चौहान उत्कृष्ट बलर ठहरिए । पूर्वाञ्चलका अंकित सुवेदी उत्कृष्ट व्याट्सम्यान घोषित भए । उनले प्रतियोगिता अवधिमा जम्मा १ सय १४ रन बनाए । उत्कृष्टद्वयलाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरियो ।
विजेतालाई मुख्य प्रायोजक पीएलओ लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक एवं नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाल, प्रिमा ग्यास उद्योगका प्रबन्ध निर्देशक सुदीप घिमिरे, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २७ गतदेखि सुरु प्रतियोगितामा पाँच विकास क्षेत्र र आयोजक गरी ६ पुरुष टिमले प्रतिस्पर्धा गरेको आयोजक एकेडेमीका सचिव समेत रहेका प्रतियोगिता संयोजक सीपी पौडेलले जनाएका छन् ।

Comment