आर्मीका सनी र अम्बिका च्याम्पियन


त्रिभुवन आर्मी क्लबका सनीसिंह सुनार १९ औं पुरुष राष्ट्रिय खुला तथा १२ औं महिला राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा बुधबार पहिलो भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको फाइनलमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका रुपक नेपालीबाट वाक ओभर पाएपछि सनी विजेता घोषित भएका थिए । आर्मीकाद्वय बद्री थापा तेश्रो र विकास गुरुङ चौथो भए । पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार, तेश्रोले ७ हजार ५ सय र चौथोले ३ हजार नगद पुरस्कार जिते ।
नेपाल क्योकुसिन कराते डो संघ वज्र (आईकेओबी) द्वारा आयोजित प्रतियोगिताको महिला ५५ केजीमुनि आर्मीकी अम्बिका भुजेल पहिलो भइन् । फाइनलमा अम्बिकाले गोर्खाकी अनुपा नेपालीलाई पराजित गरिन् । आर्मीकी शान्ति थापा तेश्रो तथा नवलपरासीकी झलकुमारी महतो चौथो स्थानमा रहे । प्रथम हुनेले ५ हजार, द्वितीयले २ हजार ५ सय, तृतीयले १ हजार र चौथोले ५ सय नगद पुरस्कार हात पारे ।
पुरुष÷महिला दुवैलाई सहभागी गराएर खेलाइएको एकल कातामा धादिङका महेश भुजेल पहिलो, आर्मीका हरिशकुमार धामी दोश्रो तथा आर्मीकी प्रशंसा पुन तेश्रो भए । शीर्ष तीन स्थानमा आउनेले क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार थापे ।
विजेतालाई सांसद ओमदेवी मल्ल, आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, उपाध्यक्ष पुष्प मानन्धर र महासचिव रामजीप्रसाद वज्राचार्यले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । दुईदिने प्रतियोगितामा ७० खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment