नव बर्षमा सोलुखुम्बुमा सेल्फ डिफेन्सको सेमिनार


नेपाल मार्शल सेल्फ डिफेन्स संघको आयोजनामा नव बर्ष २०७४ को अवसरमा सोलुखुम्बुमा अन्तराष्ट्रिय मार्शल सेल्फ डिफेन्स सेमिनार हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल मार्शल सेल्फ डिफेन्स संघले बैशाख १ र २ गते सोलुखुम्बुको सुन्दर पत्ताले बजार (जहाँबाट सगरमाथा रेन्ज देखिन्छ) मा सेमिनार आयोजना गर्न लागेको जानकारी गराएको हो । यसका लागि मार्शल सेल्फ डिफेन्सका अन्तराष्ट्रिय ग्रान्ड मास्टर मिगुल अबरेयूका साथै सेमिनारमा सहभागिता जनाउन युरोप र भारतका सेल्फ डिफेन्स संग सम्वद्ध १९ जनाको टोली नेपाल आईसकेको पत्रकार सम्मेलनमा बताईयो । युरोप, भारत र नेपालका गरि करिव १ सय ८० जनाले सेमिनारमा सहभागिता जनाउने समेत पत्रकार सम्मेलनमा संघका अध्यक्ष डि.बि.रानापालले जानकारी गराए । उनले ग्रान्ड मास्टरले उक्त सेमिनारमा सेल्फ डिफेन्स सम्वन्धि विशेष प्रस्तुती गर्ने समेत बताए ।
युरोपको पोर्चुगलमा हेडक्वाटर रहेको यस मार्शल सेल्फ डिफेन्स सेमिनारले नेपालमा विभिन्न बर्गका ब्यक्तिहरुमा आत्मसुरक्षा सम्वन्धि ज्ञान प्राप्त गर्नुका साथै आपतकालिन अवस्थामा आफ्नो सुरक्षा गर्न आत्मबिश्वासको विकास हुने समेत सम्मलेलनमा बताईयो । यसका लागि नेपालमा प्रशिक्षकहरुको उत्पादन गर्ने कार्यको समेत थालनी भई सकेको छ ।
विभिन्न ११ मार्शल आर्टका सेल्फ डिफेन्सलाई सम्मिश्रण गरि बनाईएको नयाँ मार्शल सेल्फ डिफेन्स खेल बालबालिका देखि सवै उमेर समूह, पेशागत र ब्यवसायीका लागि उपयुक्त हुने ग्रान्ड मास्टर मिगुलले जानकारी गराए । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा यसको सेमिनार गर्नाले विश्वमानै यस खेलको प्रचार प्रसार हुनुका साथै बिकास र विस्तारमा सहयोग पुग्ने मिगुले बताए ।

Comment