उपाधिमाथि लैनचौरको ह्याट्रिक


लैनचौर डोजोले तेश्रो खुला सितोरियो कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । लैनचौरले ७ स्वर्ण, ९ रजत र ९ कांस्य जित्यो । लैनचौरले टिम च्याम्पियनको उपाधि जितेको यो लगातार तेश्रो पटक हो । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो भैसेपाटीद्वारा आयोजित प्रतियोगितामा नरहरिपुर डोजो ५ स्वर्ण, ६ रजत र ६ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानमा रहेको केन्द्रीय डोजोले ५ स्वर्ण, ४ रजत र ४ कांस्य हात पा¥यो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ भक्तपुर डोजो चौथो भयो । १ स्वर्ण र ६ कांस्यसहित घण्टाघर डोजो र आयोजक संयुक्त रुपमा पाँचौं स्थानमा रहे ।
लैनचौरका लागि पुरुष २५ केजीमा सुशान्त हुमागाईं र ६० केजीमा अरुण डंगोल तथा महिला एकल कातामा मन्दिर थापा, ३० केजीमा पुनम पौडेल, ४० केजीमा कुसुम पौडेल, ५५ केजीमा सुस्मिता वाइबा र खुला तौलसमूहमा निरुपा लामाले स्वर्ण जिते ।
भैसेपाटीस्थित दीपकुञ्ज स्कुलमा भएको प्रतियोगिताको पुरुषमा भक्तपुर डोजोका सुवास परियार तथा महिलामा आयोजककी अर्चना परियार उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती, कराते पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ, रेफ्री संयोजक राजेन्द्र कपालीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ९० खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक प्रेम शाहले जनाएका छन् ।

Comment