रामबहादुर फाइनलमा


चौथो संस्करणका विजेता नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल छैटौ मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको पुरुष ७० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । उनीसंगै सिटी हेल्थ स्टुडियोका विशुराम केसी, मध्यपुर फिजिकल फिटनेस क्लबका अमितकुमार मण्डल, मिड–वेस्टर्न फिटनेस सेन्टरका सुरेन्द्र थापा र रुपेन्द्हीका ताराबहादुर थापा क्षेत्री पनि फाइनलमा पुग्न सफल भए ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६५ केजीमा कम्प्लिट हेल्थ क्लबका अनिललाल श्रेष्ठ, फिटनेस फस्टका रोजिन वज्राचार्य, मध्यपुरका दिलकृष्ण खड्गी, व्यायाम मन्दिरका रमेश कार्की र रुपन्देहीका मोतिलाल चौधरी फाइनलमा पुगे । पुरुष ५५ केजीमा बुल्स जिम पोखराका सुरेश गुरुङ, फिटनेस फस्टका धर्मराज खापुङ, कपिलवस्तुका सुरेन्द्र वर्मा, मसल्स मेनिया फिटनेस क्लबका आवाज प्याकुरेल र रत्नश्री जिमका कमल भण्डारीले फाइनलमा स्थान सुरक्षित गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ६० केजीमा फिटनेस फस्टका समिन मगर, व्यायाम मन्दिरका सैलेन्द्रकुमार शर्मा र सुजन तामाङ, रोयल जिम एन्ड क्लबका सुक्देव कार्की र रुपन्देहीका सुनील आलेले फाइनल यात्रा तय गरे ।
पुरुष ७५ केजीमा एक्टिभ फिजिकल फिटनेसका रोहित हमाल, कम्प्लिटका अनुज मास्के, कान्तिपुर फिटनेस सेन्टरका विसन गुरुङ, रिभर फिल्ड फिटनेसका अशोक महर्जन र रुपन्देहीका विजेन्द्रमान श्रेष्ठले फाइनलमा स्थान पक्का गरे । ७५ केजीमा कञ्जनजंघा फिटनेस सेन्टरका पिताम्बर थलाङ लिम्बू, मसल्सका अमन तण्डुकार, व्यायाम मन्दिरका ग्रिस महर्जन, ओम फिटनेस सेन्टरका वीरबहादुर महतारा र रुपन्देहीका अनिश थापा फाइनलमा पुग्न सफल भए ।
फाइनल चरणमा पहिलो हुने प्रत्येक तौलसमूहका विजेताबीच पुनः मिस्टर हिमालय उपाधिका लागि भिडन्त हुनेछ । मिस्टर हिमालय उपाधि विजेतालाई २ लाख ७५ हजार नगदबाट पुरस्कृत गरिने छ । हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पुरुष फिटनेसतर्फ १७० सेन्टीमिटर उचाईमुनि सिटीका विशुराम, डिभाइन फिजिकल फिटनेसका रविन्द्र श्रेष्ठ, फिटनेस फस्टका दामोदर श्रेष्ठ, व्यायाम मन्दिरका रमेश कार्की र रोयलका सुक्देव फाइनलमा पुगे । सोही स्पर्धाको १७० सेन्टीमिटरमाथि उचाईमा कम्प्लिटका अनुज मास्के, डिभाइनका रतिश वज्राचार्य र ज्ञानेन्द्र मल्ल, भालु भैरव जिम एन्ड फिटनेसका मानबहादुर राउत तथा ओयस्टर स्पा एन्ड फिटनेसका साजन अर्याल फाइनलमा स्थान बनाउन सफल रहे ।
महिलाको एथलेटिक फिजिक्सको खुला उचाई समूहमा कम्प्लिटकी आरती काफ्ले, डिभाइनकी जुनु श्रेष्ठ, मसल्सकी मेरिना श्रेष्ठ र ठमेल फिजिकल फिटनेसकी रजनी थापा मगर फाइनलमा पुगे । फिटनेस र एथलेटिक फिजिकका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार जित्ने छन् ।
शनिबार सम्पन्न हुने प्रतियोगिताको शारीरिक सुगठनमा ६, फिटनेसमा २ र एथलेटिकमा १ स्पर्धा समावेश छन् । ८६ पुरुष र ४ महिला गरी ९० खेलाडी सहभागी छन् ।

Comment