व्याकुल माइला गोल्डकपको तयारी पूरा

व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण शुक्रबार सुरु हुँदै छ । एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार खेलकुद मैदान मर्मत, नयाँ मञ्च निर्माणलगायत कार्य सम्पन्न भइसकेको छ ।
राष्ट्रिय गानका रचनाकार व्याकुल माइला जन्मिएको ठाउँलाई चिनाउन तथा विकास गर्ने उद्देश्यले स्थानीय युवाको अग्रसरतामा २०६८ सालदेखि उक्त प्रतियोगिता ओखलढुंगाको हिलेपानी–सोक्मटारस्थित बालेमबगरमा आयोजना हुँदै आएको छ । विगतमा कोजाग्रत पूर्णिमाका दिन सुरु हुँदै आएको प्रतियोगिता यस वर्ष दूधकोसी नदी बगरमा रहेको खेल मैदान बाढीका कारण क्षतिग्रस्त भएपछि अहिले गर्न लागिएको आयोजकले जनाएको छ । नयाँ नेपाल सरोकार समाज, हिलेपानी फुटबल क्लब, दुधकौशिका प्राथमिक विद्यालयसहित व्याकुल माइला गोल्डकप मूलसमारोह समिति आयोजकमा छन् ।
यसपटक ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सोलुखुम्बु, काठमाडौं, ललितपुरलगायत विभिन्न जिल्लाका १६–१७ टिम सहभागी हुँदै छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय टिमलाई क्रमशः १०३ तोला, ८० तोला र ७० तोलाका चाँदीका रनिङ सिल्डसहित नगद पुरस्कार रु. १ लाख, ५० हजार र २५ हजार प्रदान गरिनेछ ।
‘खेलकुद्को माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सञ्चालित प्रतियोगिताका क्रममा निःशुल्क स्वास्थ्य शिविर, लोकसांस्कृतिक नाच कार्यक्रम, सांगीतिक कार्यकम्र, र्यफ्टिङ, कृषि तालिम, फुटबल प्रशिक्षण, बायोब्रिकेट तालिम आदि विभिन्न कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । यस वर्ष थाली, ताम्बो नाचलगायतका लोकसांस्कृतिक नाच र मनोरञ्जनमूलक सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Comment