हिमाल, मनीष, क्षितिज र सुमित सेमिफाइनलमा

मनीष हमालः फाइल तस्बिर

ललितपुरमा जारी कामना सहकारी चेस प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । हिमाल लामा, क्षितीज भण्डारी, मनिष हमाल र सुमित पन्त सहकारी कपको पाचौं संस्करणको सेमिफाइनलमा प्रवेश गरेका हुन् । लिग तथा नकआउट दोहोरो प्रणालीमा सञ्चालीत प्रतियोगिताको ७ चरणको समाप्ति पश्चात उत्कृष्ट ४ मा पर्न सफल खेलाडीले मोटरसाईकलका लागि प्रतिष्पर्धा गर्नेछन् ।
गोल्डेनगेट कलेजका हिमालले बुधबार सम्पन्न छैटौं चरणको खेलमा क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराए भने सातौं चरणमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामासँग बराबरी खेले । जनता साकोस ठेचोका क्यान्डिडेटमास्टर क्षितीजले सातौंमा पूर्व नेपाल च्याम्पियन पूण्यमान कर्माचार्यमाथि जीत हात पारे । सात खेलबाट हिमाल र क्षितीजले समान ६–६ अंक बनाए ।
प्रतियोगिताका पहिलो तथा तेश्रो संस्करणका विजेता मदनकृष्ण कायस्थ तथा चौथो संस्करणका विजेता सजिन महर्जन नकआउट चरणमा छनौट हुन सकेनन् । छैटौं चरणमा पूण्यमान कर्माचार्यसँग पराजीत भए सँगै क्यान्डिडेटमास्टर मदनकृष्णको नकआउट पुग्ने सम्भावना टरेको हो ।
अर्थ बहुउद्देश्यीय सहकारी लगनखेलका मनिषले छैटौं तथा सातौं चरणमा क्रमशः क्षितीज भण्डारी तथा बद्रीलाल नेपालीसँग बराबरीको नतिजा आत्मसात गरे । त्यसैगरी श्रेयङकर साकोसका सुमितले छैटौंमा नेशनल डेभलपमेन्टका दिर्घराज जोशी तथा सातौंमा कन्काई साकोसका सुमन लामाको चुनौती पन्छाए । समान ५ दशमलब ५ अंक बनाएका करुणामय साकोसका बद्रीलाल नेपाली तथा मच्छिन्द्र क्लबका सुरवीर लामालाई टाईब्रेकमा पछि पार्दै मनिष र सुमित नकआउट चरणमा प्रवेश गरेका हुन् ।
सुरवीर लामा तथा बद्रीलाल नेपाली समान ५ दशमलब ५ अंकका साथ लिग तर्फ शिर्षस्थानमा रहेका छन् । नेकोस चेस एकेडेमीका मदनकृष्ण कायस्थ, गोल्डेनगेट कलेजका केशव श्रेष्ठ, श्रमजीवी साकोसका विकास कुलुजु, स्वागतम साकोसका रविन्द्र शाक्य, मखन चेस क्लबका पूण्यमान कर्माचार्य, भक्तपुर साकोसका राज प्रजापति, कामना साकोसका जनार्दन श्रेष्ठ तथा थापाथली चेस पार्कका सुशील चौधरीले समान ५–५ अंक बनाए ।
कामना साकोसका क्यान्डिडेटमास्टर सजिन महर्जन, मखन चेस क्लबका सुमन राई, कन्काई साकोसका सुमन लामा, डायनामिक चेस एकेडेमीका भुपेन्द्र निरौला, नेशनल डेभलपमेन्टका राजेन्द्रप्रसाद श्रेष्ठ र संकटा साकोसका नविन तण्डुकारले समान ४ दशमलब ५ अंक बनाएका छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्रकार समाजको आयोजनामा सञ्चालित पाचौं कामना सहकारी बुद्धिचाल प्रतियोगिता अन्र्तगत बिहिबार लिगतर्फ आठौं तथा नवौं र नकआउटका खेल सञ्चालन हुनेछन् ।

Comment