कामना सहकारी चेसमा हिमाल, मनिष र क्षितीजको अग्रता


ललितपुरमा जारी कामना सहकारी चेस प्रतियोगितामा हिमाल लामा, मनिष हमाल र क्षितीज भण्डारी अग्रता लिन सफल भएका छन् । प्रतियोगिता अन्र्तगत मंगलबार चौथो तथा पाचौं चरणका खेल सम्पन्न भए । चौथो चरणको खेलमा मनिष हमालसँग बराबरी गरेका गोल्डेनगेट कलेजका हिमालले पाचौं चरणमा श्रेयङकर साकोसका सुमित पन्तमाथि जीत हात पारे । अर्थ बहुउद्देश्यीय सहकारीका मनिषले पाचौं चरणमा कामना साकोसका सजिन महर्जनलाई हराए । त्यसैगरी जनता साकोसका क्षतीज भण्डारीले चौथोमा श्रमजीवी साकोसका विकास कुलुजु तथा पाचौंमा मखन चेस क्लबका सुमन लामामाथि विजय हात पारे । पाचौं चरणको समाप्तिमा हिमाल, मनिष र क्षितीजको समान ४ दशमलब ५ अंक भएको छ ।
मदनकृष्ण कायस्थ, केशव श्रेष्ठ, सुरवीर लामा, बद्रीलाल नेपाली, रविन्द्र शाक्य, राजेन्द्रप्रसाद श्रेष्ठ, पुण्यमान कर्माचार्य समान ४–४ अंकमा रहन सफल भएका छन् ।
नेकोस चेस एकेडेमीका मदनकृष्ण चौथो चरणमा सुमित पन्तसँग बराबरीमा रोकिए भने पाचौंमा मखन चेस क्लबका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । चौथो चरणमा संकटा साकोसका नविन तण्डुकारलाई हराउन सफल गोल्डेनगेट कलेजका केशवले पाचौं चरणमा बद्रीलालसँग अंक बाँडे ।
पूर्व नेपाल च्याम्पियन सुरवीरले चौथो चरणमा डायनामीक चेस एकेडेमीका भुपेन्द्र निरौलासँग बराबरी खेले भने पाचौं चरणमा झपाका अनिष कुमार सुवेदीमाथि जीत हात पारे । चौथो चरणमा करुणामय साकोसका बद्रीलालले नेशनल डेभलपमेन्टका दिर्घराज जोशीलाई हराए । स्वागतम साकोसका रविन्द्र शाक्यले चौथो तथा पाचौं चरणमा क्रमशः डायनामीक चेस एकेडेमीका विजय मगर तथा काठमाण्डौका रमेश महर्जनलाई हराए । त्यसैगरी नेशनल डेभलपमेन्ट सहकारीका राजेन्द्रप्रसादले चौथोमा रुकुमका सरोज थापा तथा भुपेन्द्र निरौलामाथि जीत हात पारे । मखन चेस क्लबका पूण्यमानले चौथो चरणमा नवसुलभ साकोसका अविरल राई तथा पाचौं चरणमा नेशनल डेभलपमेन्टका सुदर्शन प्रधानमाथि जीत हात पारे ।
श्रेयङकर साकोसका सुमित पन्त, कामना साकोसका सजिन महर्जन, मखन चेस क्लबका सुमन लामा, संकटा साकोसका नविन तण्डुकार, नेशनल डेभलपमेन्टका दिर्घराज जोशी समान ३ दशमलब ५ अंकमा रहेका छन् ।
डायनामिक चेस एकेडेमीका भुपेन्द्र निरौला तथा विजय मगर, मखन क्लबका सुजेन्द्रप्रसाद श्रेष्ठ, बाराका श्यामलाल दास, श्रमजीवी साकोसका विकास कुलुजु, काठमाण्डौका भगवतीप्रसाद शर्मा, तनहुँका सविन चन्द्र घिमिरे, नेशनल डेभलपमेन्टका सुनिल बहादुर कोइराला तथा सुदर्शन प्रधान, सादना साकोस झापाका राजन सुवेदी, अनिश कुमार सुवेदी लगायतको समान ३–३ अंक रहेको छ ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्रकार समाजको संयुक्त आयोजनामा जावलाखेल स्थित ताम्राकार समाज भवनमा जारी सिवानी एअर पाचौं कामना सहकारी चेस प्रतियोगिता अन्र्तगत बुधबार छैठौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।

Comment