नयाँ बजार कप भलिबलको तयारी पूरा


बुधबारदेखि सुरु हुन लागेको चौथो नयाँ बजार कप राष्ट्रिय पुरुष खुला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बजार सामाजिक युवा क्लवले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा गत बर्षको विजेता नेपाल पुलिस क्लव, ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टर, त्रिभुवन विश्वविद्यालय र सशस्त्रको एपीएफ क्लव रहेका छन् । यसैगरी समूह बीमा दिप्सन फुड्स जापान आँधीखोला, गीताञ्जलि कलेज, नयाँ बजार सोसल युथ र नेपाल आर्मी क्लव रहेका छन् । सहभागी टोलीलाई अन्तर्राष्ट्रिय भलिबल संघको नियम अनुसार दुई समूहमा विभाजन गरिएको अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट कुलबहादुर रानाले बताए ।
नयाँ बजारस्थित सोसल मैदानमा आयोजना हुने प्रतियोगिता चैत २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको कुल लागत १६ लाख २५ हजार रुपैयाँ रहेको क्लवका अध्यक्ष भगवान थापाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले एक लाख ७५ हजार एक सय ११ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ९० हजार एक सय ११ र तेस्रो स्थान हासिल गर्ने टोलीले ५१ हजार एक सय ११ र चौथो हुने टोलीले २५ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक पदमकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले आकर्षक ट्रफी प्राप्त गर्नेछन् भने विधागततर्फ वेस्ट स्पाइकर, सर्भर, ब्लकर, डिफेन्स, सेटर, क्वीकर र वेस्ट कोचलाई पनि आकर्षक ट्रफीबाट पुरस्कृत गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा क्लवका महासचिव टिकाराज पाण्डे, राष्ट्रिय रेफ्री तथा खेल सह–संयोजक विकास गुरुङ, सहभागी टिमका प्रशिक्षक तथा ब्यावस्थापकहरुको उपस्थिति रहेको थियो ।

Comment