रविर र पशुपतिलाई स्वर्ण


रविर थामी र पशुपति नेपालीले दोलखा जिल्लास्तरीय बहिरा तथा दृष्टिविहीन टेबलटेनिस प्रतियोगिताको दृष्टिविहीन साउन्ड टेबलटेनिसमा आइतबार स्वर्ण जितेका छन् । दोलखाको चरिकोटस्थित भीमेश्वर बहिरा विद्यालयमा भएको पुरुष सिंगल्स रविरले बद्री ढुंगानालाई ११–६ र ११–७ को सोझो सेटमा पराजित गरे । लोकराज घिमिरे र सन्तोष सुन्दास तेश्रो भए । महिलाको फाइनलमा पशुपतिले एनिमाया भट्टराईलाई सीधा सेटमा ११–६ र ११–७ ले हराइन् । लीला तामाङ र लक्ष्मी खड्काले कांस्य जिते ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल पारा ओलम्पिक कमिटी र नेपाल दृष्टिविहीन टेबलटेनिस संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको बहिरातर्फ पुरुषमा शरण तामाङ र महिलामा डा फुटी शेर्पाले स्वर्ण जिते ।
शरणले फाइनलमा भवेन्द्र गज्मेरलाई ११–८ र ११–९ ले पाखा लगाए । सुजन जिरेल र सुदर्शन थामी तेश्रो बने । डा फुटीले उपाधि भिडन्तमा लक्ष्मी श्रेष्ठको चुनौती ११–५ र ११–७ ले समाप्त पारिन् । उर्मिला तामाङ र साम फुटी शेर्पा संयुक्त रुपमा तेश्रो भए । विजेतालाई दोलखा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गुणराज अधिकारी, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव कुमार पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । दृष्टिविहीनतर्फ ४० र बहिरातर्फ ३० प्रतिस्पर्धी सहभागी थिए ।

Comment