प्रहरीलाई थप ६ स्वर्ण


नेपाल प्रहरीले गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगिताको दोश्रो दिन आइतबार थप ६ स्वर्ण जितेको छ । अघिल्लो दिन ४ स्वर्ण जितेको प्रहरीको कूल स्वर्ण संख्या १० पुगेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा प्रहरीका सोनाम लामाले स्वर्ण जिते । उनले फाइनलमा त्रिभूवन आर्मी क्लबका रोशन बलामीलाई पराजित गरे । ६० केजीमा प्रहरीका रविन्द्र कार्की पहिलो भए । उपाधि भिडन्तमा रविन्द्रले मध्यमाञ्चलका राजकुमार रसाइलीलाई हराए । ६७ केजीमा मध्यपश्चिमाञ्चलका प्रकाश घर्ती च्याम्पियन बने । उनले पश्चिमाञ्चलका चन्द्र बुढालाई पाखा लगाए । आयोजकका निरन्जन खड्कालाई निराश पार्दै प्रहरीका गंगाराम कुसुवारले ७५ केजीमा पहिलो स्थान कब्जा गरे । ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठ पहिलो भए । उनले आर्मीका सुरज थारुको चुनौती समाप्त पारे ।
महिलाको ५० केजीमा आर्मीकी मिस्ली श्रेष्ठले फाइनलमा पूर्वाञ्चलकी जिना सुब्बालाई पन्छ्याउदै शीर्ष स्थान हात पारिन् । ५५ केजीमा प्रहरीकी मल्लिका थापा पहिलो भइन् । मल्लिकाले एपीएफकी सुस्मिता वाइबालाई हराइन् । ६१ केजीमा च्याम्पियन बन्ने क्रममा प्रहरीकी सुनीता महर्जनले आर्मीकी सुक्मित राईलाई पाखा लगाइन् । प्रहरीकी कोपिला विष्ट विरुद्धको फाइनलमा विजयीहुँदै आर्मीकी विभूशा थापाले ६८ केजीको स्वर्ण आफ्नो नाममा लेखाइन् ।

Comment