यति–ज्ञान तेक्वान्दोमा उज्वललाई स्वर्ण


कोटेश्वरका उज्वल गुरागाईंले यति–ज्ञान खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । पुरुष ७४ केजीको फाइनलमा उज्वलले न्यु गोल्डका सतिश महर्जनलाई पराजित गरे । खोकनास्थित ज्ञानोदय रेसिडेन्सियल स्कुल र यति तेक्वान्दो डोजाङद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषतर्फ ५४ केजीमा न्यु जेनका अम्बिकाप्रसाद घिमिरेले सीतापाइलाका सैलेश गिरी, ५८ केजीमा कोटेश्वरका विपुल थापाले यतिका संग्राम मोक्तान तामाङ, ६३ केजीमा यतिका ज्ञानेन्द्र हमालले कोटेश्वरका विश्वराज श्रेष्ठ तथा ६८ केजीमा न्यु जेनका निशान श्रेष्ठले द च्यालेन्जरका किरण सितिखुलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।
महिलाको ४६ केजीमा कोटेश्वरकी मनीता पाण्डे, ४९ केजीमा न्यु जेनकी युनिशा राई, ५३ केजीमा कोटेश्वरकी सुष्मा श्रेष्ठ, ५७ केजीमा यतिकी सन्ध्याकुमारी सिंह तथा ६२ केजीमा विजेश्वरीकी आकृति कार्कीले स्वर्ण जिते । विजेतालाई ज्ञानोदयकी संस्थापक इन्दिरा याक्थुम्बालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले उद्घाटन गरेका थिए । एकदिने प्रतियोगितामा विभिन्न ११ डोजाङका ९८ खेलाडीले पुरुष÷महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment