‘टेबलटेनिसको विकासमा सहयोग गर्ने’


एसियाली टेबलटेनिस युनियनका कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघका सदस्य धनराज चौधरीले नेपाली टेबलटेनिसको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार अखिल नेपाल टेबलटेनिस संघका पदाधिकारी र खेलाडीसंगको भेटमा चौधरीले उक्त प्रतिबद्धता जनाएका हुन् ।
‘विगतमा पनि हामीले नेपाली टेबलटेनिसलाई सहयोग गर्दै आइरहेका छौं । आगामी दिनमा पनि सक्दो सहयोग गर्ने छौं ।’ भारतीय टेबलटेनिस संघका पूर्व अध्यक्ष समेत रहेका चौधरीले भने ।
चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने टेबलटेनिस खेलाडीलाई भारतको सिलीगुढीमा निशुल्क बन्द प्रशिक्षणको व्यवस्था मिलाइ दिने समेत अवगत गराए । उनले खेल सामाग्रीमा पनि सहयोगको वाचा गरे । चौधरी भारतीय ओलम्पिक कमिटीका सदस्य पनि हुन् ।
टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले विगतको सहयोगका लागि धन्यवाद दिदै आउँदा दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । सो अवसरमा अध्यक्ष वैद्यले चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए ।

Comment