ओखलढुंगामा खुला पुरुष भलिबल हुने

यही चैत १५ गतेदेखि ओखलढुंगाको गाम्नाङटारमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद पर्यटनको विकासका लागि दी युथ पावर नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंलगायत विभिन्न जिल्लाका १३ टोलीको सहभागिता रहने दी युथ पावर नेपालका खेलकुद संयोजक विजय बस्नेतले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । यस्तै तेस्रो हुने टोलीले ३३ हजार तीन सय ३३ रुपैयाँ र सान्त्वना हुने टोलीले ११ हजार एक सय ११ रुपैयाँ हात पार्नेछ । यस्तै उत्कृष्ट खेलाडीले पाँच हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्सलाई नगद एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने आयोजकले जानकारी दियो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि गाउँमै होम स्टेको आयोजना गरिएको र उनीहरुले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्ने संयोजक बस्नेतले पत्रकार सम्मेलनका जानकारी दिए । प्रतियोगिता गाम्नाङटार सेवा समाजको सहकार्यमा आयोजना हुन लागेको हो ।

Comment