भलिबल खेलाडीको बिदाइ


माल्दिभ्सको मालेमा आयोजना हुन लागेको सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली भलिबल टोलीको आइतबार बिदाइ गरिएको छ । बुधबारदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससहित तुर्कमेनिस्तान र किर्गिस्तानको सामना गर्नेछ । सेटर इम राना मगरको कप्तानीमा रहेको नेपाली टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार ओपन स्पाइकर छन् । यस्तै क्वीक स्पाइकरमा महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी रहेका छन् । साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापा मगर छन् । टोलीमा चार नयाँ खेलाडी रहेका छन् । नया अनुहारमा ओपन स्पाइकर दिल सुनार, क्वीक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन् । सुनार, अधिकारी र महतो नेपाल आर्मीका खेलाडी हुन् भने निरौला एपीएफसँग आवद्ध छन् ।
नेपाली टोलीको प्रशिक्षकमा वीरेन्द्र चौधरी तथा सहायक प्रशिक्षकमा जगदिश भट्ट छन् । नेपाली टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघका सचिव डम्बरबहादुर नेपालीले सम्हाल्ने छन् । टोलीसँगै अन्तर्राष्ट्रिय रेफ्री क्यान्टिडेट चन्द्रा बदना राई पनि त्यसतर्फ जानेछिन् ।
नेपाली टोलीले पहिलो खेल मार्च २३ मा तुर्कमेनिस्तानसँग खेल्नेछ । यस्तै मार्च २४ मा आयोजक माल्दिभ्स र मार्च २७ मा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले बिदाइ गरे । बिदाइ कार्यक्रममा नेपाल भलिसंघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष यमबहादुर गुरुङ र महासचिव जितेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । नेपाली टिम सोमवार त्यसतर्फ प्रस्थान गर्नेछ ।

Comment