राजेश र अनिशालाई स्वर्ण

राजेश खड्का र अनिशा तामाङले तेश्रो राष्ट्रियव्यापी फुलकन्ट्याक्ट तौलसमूह प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ललितपुरका दुवैले आ–आफ्नो विधाको खुला तौलसमूहमा स्वर्ण हात पारेका हुन् ।
संगम बुदोकैदो शाखा, स्वयम्भूद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला फाइनलमा राजेशले काठमाडौंका रविन नेपाललाई पराजित गरे । अनिशाले काठमाडौंकै सुचित्रा जोशीलाई फाइनलमा हराउदै महिला खुलामा च्याम्पियन बनिन् ।
बसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष ३५ केजीमा काठमाडौंका सुजल महर्जन पहिलो भए । उनले फाइनलमा ललितपुरका नवीन थापा मगरलाई पाखा लगाए । पुरुष ४५ केजीमा काठमाडौंका सन्तोष तामाङले काठमाडौंकै सन्तोष लामाको चुनौती पन्छ्याउदै स्वर्ण जिते ।
पुरुष ५० केजीको फाइनलमा कास्कीका सुनील तामाङले शीर्ष स्थान हात पारे । उनले फाइनलमा ललितपुरका समिर तामाङलाई निराश पारे । पुरुष ५५ केजीमा ललितपुरका सरोज खत्री पहिलो बने । उनले उपाधि भिडन्तमा काठमाडौंका रोशन विष्टलाई पन्छाए ।
दुईदिने प्रतियोगितामा पुरुषमा ५ र महिलामा १ गरी जम्मा ६ स्पर्धामा १ सय ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा ललितपुरले सर्वाधिक ३ स्वर्ण जित्यो । काठमाडौंले २ तथा कास्कीले १ स्वर्ण हात पारे ।

Comment