खुला पुरुष भलिबल हुने


गोटीखेल जनहित क्लबले आफ्नो रजत महोत्सवको अवसरमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । भलिबलसहित बुद्धिचाल र दौड प्रतियोगिता पनि हुने आयोजक क्लबका अध्यक्ष निरन्जन घिमिरेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भलिबलमा १२ देखि १४ टिम भए लिग कम नकआउट आधारमा खेल खेलाइने छ । १५ देखिमाथि टिम सहभागी हुने अवस्था भए नकआउट आधारमा खेल सञ्चालन गरिने बताइएको छ । सहभागी टिमले विभागीय टिमका खेलाडी सहभागी गराउन पाउने छैनन् ।
चैत २६ गतेदेखि गोटीखेलमै हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा पराजित हुने टिमलाई समान २५–२५ हजार नगद प्रदान गरिने छ ।
पुरुष÷महिला सहभागी हुने बुद्धिचालमा समग्रमा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार दिइने छ । सान्त्वना पुरस्कार स्वरुप एकलाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ ।
महाँकाल गाउँपालिकाका स्थानियलाई लक्षित गरी आयोजना गर्न लागिएको दौडतर्फ पुरुष÷महिलाको आ–आफ्नो समूहमा प्रथम हुनेले १० हजार, द्वितीयले ५ हजार र तृतीयले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । यसमा पनि एकलाई सान्त्वना पुरस्कार स्वरुप २ हजार ५ सय नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । दौडको दूरी ६ किलोमिटर हुनेछ । महोत्सवको अन्तिम दिन चैत २९ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । खेलकुदका अलावा महोत्सवकै अवसरमा विभिन्न सामाजिक कार्यक्रम पनि हुनेछ ।

Comment