सुचित्रा र रोशनी सेमिफाइनलमा

राष्ट्रव्यापी फुलकन्ट्याक्ट करातेको उद्घाटनका अवसरमा सम्मानित बायाँबाट क्रमशः राजेन्द्र खत्री, राकेश श्रेष्ठ र सञ्जय रन्जित सम्मान पत्रसाथ ।

काठमाडौंकी सुचित्रा जोशी र रोशनी तामाङ तेश्रो राष्ट्रियव्यापी फुलकन्ट्याक्ट तौलसमूह प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला खुला तौलसमूहको क्वाटरफाइनलमा सुचित्राले ललितपुरकी सलिना तामाङ तथा रोशनीले भक्तपुरकी अनिशा शाक्यलाई पराजित गरे । सोही स्पर्धामा ललितपुरकी शान्ति लामाले काठमाडौंकी विमला घर्ती तथा कास्कीकी अनिशा तामाङले काठमाडौंकी शान्ति लामालाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
संगम बुदोकैदो शाखा, स्वयम्भूद्वारा आयोजित प्रतियोगिताको पुरुष ३५ केजीमा काठमाडौंका सुजल महर्जन, ललितपुरका सुरज घतानी, काठमाडौंका करुण पाण्डे र भक्तपुरका नवीन थापा मगर सेमिफाइनलमा पुगे । पुरुष ४५ केजीमा काठमाडौंका सन्तोष तामाङ, ललितपुरका अमृत तामाङ, अछामका हिमाल रोकाया र काठमाडौंका सन्तोष लामा सेमिफाइनलमा प्रवेश गरे । बसन्तपुर डबलीमा भएको पुरुष ५० केजीमा काठमाडौंका समिर तामाङ, ललितपुरका सुमन तामाङ, भक्तपुरका सुनील तामाङ र कास्कीका विशाल मगरले सेमिफाइनल यात्रा तय गरे । पुरुष ५५ केजीमा ललितपुरका सरोज खत्री, अछामका लक्ष्मण रोकाया, काठमाडौंका रोशन विष्ट र कास्कीका लाक्पा गुरुङले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा करातेका सञ्जय रन्जित, राकेश श्रेष्ठ र सिर्जना अधिकारी, तेक्वान्दोका राजेन्द्र खत्रीलगायतलाई सम्मान गरिएको थियो । शनिबार सम्पन्न हुने प्रतियोगितामा १७ महिलासहित १०९ खेलाडी सहभागी छन् । पुरुषमा ५ र महिलामा १ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

Comment