एसिसी इमर्जिङ कपका लागि छनोट

बंगलादेशमा हुने एसिसी इमर्जिङ कपका लागि नयाँ अनुहारसहित नेपाली राष्ट्रिय टोली घोषणा भएका छन् । १२ चैत १२ गतेदेखि २२ गतेसम्म बंगलादेशमा हुने एसिसी इमर्जिङ नेसन्स कप क्रिकेटका लागि चार वैकल्पिकसहित १९ जना खेलाडी छनोट भएका हुन् । यसअघि केन्यासँग खेलमा नेपालले १४ सदस्यीय खेलाडी छनोट गरेको थियो । इमर्जिङ कपमा १५ खेलाडी राख्न पाउने भएकाले थप एक खेलाडी नेपाली टोलीमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि वंैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनोट समितिले बुधबार अन्तिम टोलीको टुंगो लगाएको हो । स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि प्रतियोगितामा पनि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले समाल्ने भएका छन् ।
टोलीमा शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अविनाश कर्ण, सुनील धमला, भूवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र दीलिपनाथ रहेका छन् । वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् । इमर्जिङ कपको लागि नेपालले पाँच सिनियर खेलाडीलाई भने आराम दिएको छ । आराम पाउनेमा नियमित कप्तान पारस खड्का सहित स्पिनर शक्ति गौचन, वसन्त रेग्मी र तीव्र गतिका बलर सोमपाल कामी र करण केसी छन् । पारस र करण अस्वस्थताका कारण टोलीमा नपरेका हुन् ।
उनीहरूको स्थान टोलीमा भूवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ, दीलिप नाथ र आसिफ शेखलाई स्थान दिइएको हो । एकदिवसीय क्रिकेटको इमर्जिङ कपमा टेस्ट र एसोसिएट गरी आठ टोलीको सहभागिता रहनेछ । टेस्ट राष्ट्रबाट भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले सहभागिता जनाउनेछन् । एसोसिएटमा नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।

Comment