नेपाली कुस्ती खेलाडीलाई भारतीय कुस्ती संघले छात्रबृत्ति दिने


भारतीय कुस्ती संघले नेपालका कुस्ती खेलाडीलाई विशेष प्रशिक्षणका लागि छात्रबृत्ति दिने भएको छ । गत कात्र्तिक अन्तिम साता नेपालका १० कुस्ती खेलाडीलाई ६ महिने विशेष प्रशिक्षण दिइरहेको छ । यसैगरि अन्य थप १० खेलाडीलाई भारतीय कुस्ती संघले ६ महिने प्रशिक्षण दिने जनाएको हो । १० खेलाडीलाई महिनादिन भित्र नै उत्तर प्रदेशको गोन्ठा नन्दिनी नगरमा रहेको भारतीय खेल प्राधिकरणमा विशेष प्रशिक्षणमा पठाइने भएको हो । बुधबार भारतीय कुस्ती संघका अध्यक्ष तथा भाजपाका सांसद ब्रजभूषण शरण सिंहले नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल कुस्ती संघका वरिष्ठ उपाध्यक्ष समिम मियाँ अन्सारीसँगको भेटपछि सो सहमति गरेका हुन् । नेपाली खेलाडीलाई प्रशिक्षणका साथै बसोबास र डाइटको व्यवस्थापन समेत भारतीय कुस्ती संघले गर्ने बताइएको छ ।
पूर्व चर्चित कुस्ती खेलाडी समेत रहेका भाजपाका सांसद सिंहले नेपालको कुस्ती खेलको विकासका लागि भारतीय कुस्ती संघले सक्दो सहयोग गर्ने बताएको अन्सारीले जानकारी दिए । ‘भेट पछि उहाँले नेपालको खेलकुदको विकासका लागि आफुले सधै सहयोग गर्न तयार रहेको बताउनुभयो र विशेषगरी नेपालमा कुस्ती खेलको विकासका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो’ अन्सारीले भने ।
नेपाल कुस्ती संघका वरिष्ठ उपाध्यक्ष अन्सारीले भेटको अवसरमा सिंहलाई नेपालकोतर्फबाट मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा एक्पोजर म्याचहरु समेत राख्ने विषयमा छलफल गरेको अन्सारीले बताए । उत्कृष्ट खेलाडीले भारतमा हुने प्रो रेस्लिङमा समेत अवसर पाउने सम्भावना रहेको अन्सारीले बताए ।

Comment