खेलाडीको कुनै दोष छैन ः विष्ट


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले नेपाली क्रिकेटमा देखिएको समस्यामा खेलाडीको कुनै दोष नभएको बताएका छन् । मंगलबार नक्सालमा आयोजित राष्ट्रिय पुरुष क्रिकेट टोलीसंगको अन्तरक्रियामा सदस्य–सचिव विष्टले भने– ‘नेपाली क्रिकेटमा देखिएको समस्या क्रिकेटको नेतृत्व गर्नेहरुको अदुर्शिताका कारण हो । यसमा खेलाडीको कुनै दोष छैन ।’उनले क्रिकेटको समस्या समाधान गर्न नेपाल सरकार, खेलकुद मन्त्रालय र परिषद् गम्भीर भएको बताउदै आईसीसीसंग पनि राम्रो समझदारी बनिरहेको बताए । सदस्य–सचिव विष्टले खेलाडीका लागि के गर्दा राम्रो हुन्छ त्यसमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै आईसीसीको आर्थिक गतिविधि स्पष्ट हुनु पर्नेमा जोड दिए । सदस्य–सचिव विष्टले विश्व क्रिकेट लिगमा सोमबार केन्या विरुद्ध हात पारेको जितका लागि टोलीलाई बधाइ पनि दिएका थिए ।प्रशिक्षक जगत टमाटाले क्रिकेटको अन्योल चाँडो भन्दा चाँडो अन्त्य हुनु पर्नेमा जोड दिए । कप्तान पारस खड्काले क्रिकेटका सम्पूर्ण सरोकारवाला र एडभाइजरी कमिटी एकै ठाउँमा बसेर छलफल गरेर अगाडि बढे उपयुक्त हुने धारणा राखे ।
सोही अवसरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीसहित २५ सदस्यीय टोलीलाई भत्ता वितरण गरिएको थियो । दिनको ६ सयका दरले जम्मा ३१ दिनको भत्ता वितरण गरिएको हो ।

Comment