ननिताको फिट्नेस सेन्टर

आठौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत महिला मोडेल फिजिकमा कांस्य जितेकी ननिता महर्जनले प्याराडाइस फिट्नेस सेन्टर खोलेकी छन् ।कलंकीमा रहेको सो सेन्टरको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे । सेन्टर मंगलबारदेखि सञ्चालन हुने ननिताले बताइन् । सेन्टरमा जिम, कार्डियो, साउन स्टिम, जुम्बा र एरोबिक सुविधा रहेको बताइएको छ । करिब १ करोड ५० लाख लगानी रहेको सेन्टर शारीरिक सुगठन क्षेत्रमै संलग्न विकेश श्रेष्ठसंग मिलेर ननिताले खोलेकी हुन् ।
थाइल्यान्डको पटायामा गत मंसिर १४ देखि २० गतेसम्म भएको उक्त च्याम्पियनसिपमा ननिताले कांस्य जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा पदक जित्ने पहिलो महिला खेलाडी बनेकी थिइन् । त्यो च्याम्पियनसिप ननिताको अन्तर्राष्ट्रिय ‘डेब्यु’ प्रतियोगिता थियो । त्यसअघि ननिताले एक मात्र घरेलु प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । त्यसमा ननिताले स्वर्ण जितेकी थिइन् ।

Comment