मुवाथाइ टोली थाइल्यान्ड जाने


थाइल्यान्डको बैंककमा हुने चौधौं विश्व मुवाथाई च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित नेपाल राष्ट्रिय मुवाथाई संघका ९ सदस्यीय टोलीलाई बिहीबार बिदाइ गरियो । मार्च ११ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५१ केजीमा सञ्जय राई, ५७ केजीमा दीपक तामाङ, ६३.५ केजीमा रामगोपाल शाह ठकुरी र ७० केजीमा ससिन्द्र रन्जित रहेका छन् । महिलाको ५४ केजीमा करुणा उप्रेती तथा ६७ केजीमा अनिशा खड्का छन् ।
संघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा जाने टोलीमा निलम अधिकारी प्रशिक्षक र उमेशकुमार खड्का व्यवस्थापकको जिम्मेवारीमा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली शुक्रबार बैंकक प्रस्थान गर्दैछ ।

Comment