पवन प्रकृति लगातार चौथोपटक च्याम्पियन


पवन प्रकृतिले ललितपुर जिल्लाव्यापी नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लगातार चौथोपटक टिम च्याम्पियनको उपाधि बुधबार जितेको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा सर्वाधिक २२७ अंकसाथ पवन प्रकृति समग्रमा टिम च्याम्पियन बनेको हो । १४० अंकसाथ सेन्ट जेभियर्स स्कुल, गोदावरी दोश्रो तथा १०६ अंकसहित वज्र एकेडेमी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १२ हजार र ९ हजार नगद पुरस्कार हात पारे ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको छात्र भलिबलमा गम्भीर समुद्र सेतु उमावि पहिलो भयो । फाइनलमा गम्भीरले फुलचौकीलाई २५–१८, २१–२५ र २५–१३ ले पराजित ग¥यो । छात्रामा आदर्श सौल पहिलो स्थानमा रह्यो । आदर्श सौलले उपाधि भिडन्तामा पवन प्रकृतिलाई २५–२० र २५–८ ले हरायो ।
प्रतियोगितामा भलिबलसहित एथलेटिक्स, कबड्डी, कराते, तेक्वान्दो र उसु खेल समावेश छन् । कराते भने २७ फागुनमा हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलमा हुनेछ । भलिबल, एथलेटिक्स र कबड्डीको पदकलाई मात्र अंक प्रदान गरी टिम च्याम्पियनको घोषणा गर्ने प्रावधान छ ।
एथलेटिक्समा सेन्ट जेभियर्स स्कुल, गोदावरी, तेक्वान्दोमा पिस प्वाइन्ट, इमाडोल, उसुमा प्रेरणा विद्याश्रम तथा कबड्डीको छात्र र छात्रा दुवैमा पवन प्रकृति टिम च्याम्पियन बनेका थिए ।
विजेतालाई ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डे, ललितपुर जिल्ला युवा समितिका अध्यक्ष रमेशचन्द घिमिरे र आयोजक समितिका अध्यक्ष हेराकाजी महर्जनले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment