रेडियो दिदि–बहिनी कपमा एपीएफको जित


कुश्मा । प्रथम रेडियो दिदि बहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगीताको उद्घाटन खेलमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो । बुधवार भएको लिगचरणको खेलमा एपीएफले पुलिसमाथी २५–१४,२५–१६ र २५–१७ को सहज जित हात पारेको हो । न्युडायमण्ड र पश्चिमाञ्चलबीचको दोश्रो खेल स्थगित भएको छ । न्युडायमण्डले २५–३ र २५–१५ ले दुई सेट आफ्नो पक्षमा पारेको थियो । तेश्रो सेटमा पनि न्युडायमण्डले १९–१४ को अग्रता लिएको अवस्थामा हावा–पानीका कारण मौसम प्रतिकुल भएकाले खेल स्थगित हुन गयो । बिहिवार न्युडायमण्ड र पश्चिमाञ्चलबीचको खेल एफआइभिबिको नियम अनुसार शुरु देखिनै हुनेछ । सातौँ पश्चिमाञ्चल महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको प्रतियोगिताको समुह “क”मा शसस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र आयोजक रेडियो दिदिवहिनीको टिम रहेका छन् भने समुह “ख”मा नेपाल आर्मी,न्यूडायमण्ड एकेडेमी र पश्चिमाञ्चल क्षेत्रिय भलिबल रहेका छन् । प्रतियोगीताको विजेताले रु एक लाख र उपविजेताले ६० हजार प्राप्त गर्नेछ । तेस्रो हुने ३० हजार प्राप्त गर्नेछ । ब्यक्तिगत विधातर्फ स्पाइकर,सेटर,डिफेन्स,क्वीकर,ब्लकरलाई पनि पुरुस्कार राखिएको छ । सर्बोत्कृष्ट खेलाडीले ५ हजार रुपैया र विधागत उत्कृष्टले ३ हजार रुपैया प्राप्त गर्नेछन । प्रतियोगिता २७ फागुनसम्म चल्ने प्रतियोगिता संयोजक अरुण श्रेष्ठले जानकारी गराएका छन् ।

Comment