बेनीमा राष्ट्रव्यापी ब्याडमिन्टन


म्यागदी जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन, गंगटा युथ क्लबको आयोजना तथा म्यागदी जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा चौथो राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता म्यागदीको बेनीमा हुने भएको छ । बेनी कभर्डहलमा चैत ९ देखि १२ गतेसम्म हुने प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ९० हजार रुपैयाँ रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो ।
पुरुष सिंगल्स, पुरुष डबल्स, महिला सिंगल्स, भेट्रान्स डबल्स र यु–१७ ब्वाइज सिंगल्समा प्रतिस्पर्धा हुनेछ । यु–१७ उमेरसमूहमा बाहेक सबै विधामा नगद पुरस्कार राखिएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख ७० हजार रुपैयाँ खर्च हुने बताइएको छ । विगतका तीनै संस्करण राजधानीमा भएको थियो ।

Comment