रिम्स र नेपालयबाट उपाधि रक्षा


रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) र नेपालयले छैटौं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । डिफेन्डिङ च्याम्पियनद्वयले आ–आफ्नो विधामा उपाधि रक्षा गर्न सफल भए । सानो गौचरणमा भएको ब्वाइज फाइनलमा रिम्सले एकता जेम्सलाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि डेन्डी शेर्पा र राम तामाङले गोल गरे । एकताका शंकर लिम्बूले सान्त्वना गोल गरे । अरुणिमा तेश्रो भयो ।
संस्थागत विद्यालय संघ नेपाल (इशान) द्वारा आयोजित प्रतियोगिताको गल्र्स उपाधि भिडन्तमा नेपालयले छहारी शिक्षा सदनलाई १–० गोलले हरायो । एलिशा तामाङले निर्णायक गोल गरिन् । एकता जेम्सले तेश्रो स्थानमा चित्त बुझायो ।
ब्वाइजमा रिम्सका पेम्बा तामाङ र गल्र्समा छहारीकी स्विटी लामा उत्कृष्ट खेलाडी चुनिए । ब्वाइजमा रिम्सका अशोक तामाङ र एकताका शंकर लिम्बू (समान ५–५ गोल) तथा गल्र्समा नेपालयकी एलिशा तामाङ (३ गोल) सर्वाधिक गोलकर्ता बने । ब्वाइजमा एकताका दीपेश योञ्जन र गल्र्समा छहारीकी रेणु शेर्पा उत्कृष्ट गोलरक्षक ठहरिए । ब्वाइजमा ब्राइट जोन र गल्र्समा होली एन्जल्सले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई दक्षिण एसियाली खेलकुदको फुटबलमा खेलाडीका हैसियतले २ र प्रशिक्षकका रुपमा १ स्वर्ण हात पार्न सफल राजुकाजी शाक्य, विद्यालय निरीक्षक सुदर्शन रिजाल र आयोजक इशानका अध्यक्ष बालमुकुन्द कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २५ र गल्र्समा १० गरी ३५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment