आशिष र लुजलालाई एक सय मिटर स्वर्ण


आईडियल मोडेल स्कुलकाद्वय आशिष खत्री र लुजला अमात्यले ललितपुर जिल्लाव्यापी नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् ।च्यासल एन्फा टेक्निकल सेन्टरमा भएको प्रतिस्पर्धामा छात्रतर्फ आशिषले निर्धारित दूरी ११.५८ सेकेन्डमा पूरा गरे । सेन्ट जेभियर्सका दुवै रोनिश आचार्य तथा रुपेश यादव क्रमशः दोश्रो र तेश्रो भए । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छात्रामा स्वर्ण जितेकी लुजलाले निर्धारित दूरी तय गर्न १४.३३ सेकेन्ड समय खर्चिन् ।
आशिष र लुजला दुवैले लङजम्पमा पनि स्वर्ण हात पारे । आशिषले ५.५४ मिटर तथा लुजलाले ३.६९ मिटर छलाङ्ग लगाए ।
मार्सल आर्टतर्फ तेक्वान्दोमा पिस प्वाइन्ट, इमाडोल र उसुमा प्रेरणा टिम च्याम्पियन बने । कबड्डीको छात्र र छात्रा दुवैमा एउटै टिमले शीर्ष तीन स्थान हात पारे । पवन प्रकृति पहिलो, आदर्श सौल दोश्रो र कञ्चन मावि तेश्रो स्थानमा रहे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुका साथै एथलेटिक्सका केहि विधाका विजेतालाई पनि पुरस्कृत गरे ।
फागुन २५ गतेसम्म हुने प्रतियोगितामा विभिन्न ७५ विद्यालयका ८ सय खेलाडीको सहभागिता रहेको आयोजक समितिका सचिव एवं कार्यालय प्रमुख सुजन खतिवडाले जनाएका छन् । कराते सम्पन्न भइसकेको छ भने भलिबल मंगलबारदेखि जावलाखेलमा सुरु हुँदैछ ।

Comment