रत्ननगर च्याम्पियन


आमन्त्रण चितवन तेक्वान्दो च्याम्पियनसिपमा रत्ननगर तेक्वान्दो डोजाङ च्याम्पियन बनेको छ । चितवनीस्थीत कुमरोजमा शनिबार सम्पन्न भएको प्रतियोगितामा रत्न नगरले तेक्वान्दो डोजाङले ५ स्वर्ण सहित टिम च्याम्पियनको उपाधि उचाल्यो । कुमरोज तेक्वान्दो डोजाङद्धारा आयोजित प्रतियोगितामा काठमाडौँंको इसिडिसि तेक्वान्दो डोजाङ दोस्रो हुन सफल भयो । इसिडिसिले तीन स्वर्ण र एक रजत हात पा¥यो । इसिडिसिका सृष्टि सुन्दासले ४२ केजीमुनि,दिपक वादीले २० केजीमुनि र निर्मल शाहले २४ केजीमुनि स्वर्ण जितेका थिए । इसिडिसीका रोशन भुलले भने रजत पदकमै चिक्त बुझाएका थिए ।
त्यस्तै प्रतियोगितामा इसिडिसिका निर्मल शाह र रत्न नगरकी रोशनी लिम्बु बेस्ट फाइटर चुनिए । रोशनीले ४९ केजी र निर्मलले २४ केजीमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका थिए । धादिङ जिल्ला तेक्वान्दो संघले दुई स्वर्ण र दुई रजत हात पार्दै तेस्रो भयो । आयोजक कुमरोज तेक्वान्दो डोजाङले दुई स्वर्ण र एक कास्य हात पार्दा सान्त्वनामा सिमित भयो ।
दुई दिन सम्म चलेको प्रतियोगितामा पुरुषमा १० र महिलामा ६ तौल समुह गरी कुल १६ तौलमा प्रतिस्पर्धा भएको आयोजक कुमरोज तेक्वान्दो डोजाङ प्रमुख अभिशेख गौतमले बताए । प्रतियोगिताका विजेता खेलाडीले खैरहनी नगरपालिकाका प्रमुख गंगा भुजेल र चितवन जिल्ला तेक्वान्दो कार्यसमितीका अध्यक्ष पुस्प जोशी लगायतले पुरस्कृत गरे ।

Comment