दीलिप स्मृति डोजाङ च्याम्पियन, खड्गी र राइ सम्मानीत


आयोजक दीलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङ ‘ए’ प्रथम दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । दीलिप स्मृति तेक्वान्दो डोजाङले ७ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । टिमका लागि पुरुष ६८ केजीमा एक्सन राई, २५ केजीमा किरण तामाङ, ५४ केजीमा निशेष मगर र ५८ केजीमा दीपेन्द्र केसीले स्वर्ण जिते । महिला ५२ केजीमा रजुना ठकुरी, ३६ केजीमा रिना लामा र ४४ केजीमा अस्मिता तामाङले दीलिप स्मृति तेक्वान्दो डोजाङलाई स्वर्ण दिलाए ।
त्रिपुरेश्वरमा भएको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ श्रमिक तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो बनेको कपन तेक्वान्दो डोजाङले २ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो । १ स्वर्ण, ४ रजत र १ कांस्यसाथ इमिल तेक्वान्दो डोजाङ चौथो तथा १ स्वर्ण, २ रजत र ५ कांस्यसाथ ढल्को तेक्वान्दो डोजाङ पाँचौं स्थानमा रहे ।
प्रतियोगिताको पुरुषमा आयोजक ‘ए’ का दीपेन्द्र केसी तथा महिलामा श्रमिककी शितल बोहरा उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई नेपाल लोकतान्त्रिक फोरम केन्द्रीय कार्य सम्पादन समितिका सदस्य गणेश लामा, नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य सार्कीमान बल, ललितपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष मनराज विष्ट, आयोजक डोजाङका अध्यक्ष चित्रबहादुर रानालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा तेक्वान्दो प्रशिक्षकद्वय मनोज खड्गी, अर्जुनभक्त राईलगायतलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
दुईदिने प्रतियोगितामा विभिन्न १३ डोजाङका १ सय ८० खेलाडीले १५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । दुई वर्षअघि रेबिजका कारण १२ वर्षको कलिलो उमेरमा ज्यान गुमाएका तेक्वान्दो खेलाडी दीलिप केसीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।

Comment