राखेप र ताइवानबीच सम्झौता


राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ताइवान खेलकुद विश्वविद्यालयबीच खेलकुद सम्बन्धी विभिन्न पक्षमा सम्झौता भएको छ । विश्वविद्यालयले नेपाली खेलाडीलाई ताइवानमा खेलकुद सम्बन्धी अध्ययनका लागि व्यवस्था मिलाइ दिने, तालिमको प्रबन्ध मिलाने, ताइवानबाट विशेषज्ञ नेपाल आएर तालिम दिनेलगायतका विषयमा सम्झौता भएको राखेपका सदस्य फत्तबहादुर गुरुङले जनाएका छन् ।
ताइवानमा भएको सम्झौतमा सदस्य गुरुङ र विश्वविद्यालयबाट अध्यक्ष डा. चिन सुङ काउले हस्ताक्षर गरेका थिए । सदस्य गुरुङले शुक्रबार सो सम्झौता पत्र राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई हस्तान्तरण गरे । सोही अवसरमा सदस्य गुरुङले विश्वविद्यालयले राखेपलाई पठाएको मायाको चिनो पनि सदस्य–सचिव विष्टलाई हस्तान्तरण गरेका थिए ।

Comment