पूर्वाञ्चल र पश्चिमाञ्चलको सफल सुरुआत

पूर्वाञ्चल र पश्चिमाञ्चलले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् । इटहरीस्थित डिभिएम स्कुलमा भएको प्रतिस्पर्धामा पूर्वाञ्चलले मध्यमाञ्चललाई र पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गरे । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा पूर्वाञ्चलले टस जितेर पहिला व्याटिङ् गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १२४ रन बनायो । पूर्वाञ्चलका अपसरी वेगमले ४६ र रोमा थापाले ४२ रन बनाए ।मध्यमाञ्चलका लागि आरती बिडारीले २ विकेट लिइन् । जवाफी ब्याटिङ्मा मध्यमाञ्चल टिम १३ ओभरमा ४७ रनमा अलआउट भयो । मध्यमाञ्चलका लागि कुनै पनि ब्याट्सवोमनले दोहोरो अंक बनाउन सकेनन् । पूर्वाञ्चलका लागि कप्तान रुविना क्षेत्रीले ३ र संगीता राईले २ विकेट चट्काए । खेलको प्लेयर अफ दी म्याच पूर्वाञ्चलकी रोमा थापा भइन् ।
अर्को खेलमा पश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई ४ विकेटले पराजित ग¥यो । पहिला ब्याटिङ् गरेको मध्य पश्चिमाञ्चल १६ ओभरमा पूरै विकेट गुमाएर ६४ रन मात्र बनाउन सफल भयो । मध्य पश्चिमाञ्चलका लागि रविना ज्ञवालीले १२ रन जोडिन् ।
पश्चिमाञ्चलका लागि सीमा थापा मगर, सविता जिसीले २÷२ विकेट लिएका थिए । जवाफी ब्याटिङ्मा आएको पश्चिमाञ्चलले १७ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । प्लेयर अफ दी म्याच बनेकी पश्चिमाञ्चलकी नितु भण्डारीले २९ रन र बर्षा रानाले १४ रन बनाए । खेलको उद्घाटन एमालेका सचिब तथा पूर्व मन्त्री भिम आचार्यले गरे । प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्च, सुदू्रपश्चिमाञ्चल र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले एक लाख रुपैयाँ र उपबिजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई दस हजार, बेस्ट ब्याट्सवोमनलाई पाँच हजार र बेस्ट बलरलाई नगद पाँच हजारबाट पुरस्कृत गरिने छ । फाइनल फागुन २५ गते हुनेछ ।

Comment